Thursday, August 5, 2010
प्रेमको पोट्रेट
प्रेमको बाक्लो रङले कोरेको
आफ्नै पोट्रेट
धोइदिएको छ आँसुको फिँजले
लथालिङ्गै पारेर
सुल्झिनै नसकिने
समस्याको धोबी-तलाउमा।
पलायन मृत्युसितको
प्रत्येक साँझ लखतरान देहलाई
उराठिला क्षणका लट्ठी टेकाउँदै
आफ्नै लाश काँधमा बोकाएर
श्मशानघाट प्रवेश गर्छु
अलिकति जीवन बाँकी छ कि?
छामिहेर्छु,
घुटुक्क थुक निल्छु,
मन्दगतिमा चलेको मुटुको धुकधुकी सुन्छु
अहँ,
यमराजको द्वार राम्रोसित ढप्काएको देख्दिनँ
सुटुक्कै भागेर जिन्दगीतिर फर्किआउँछु।
विचित्र कला
लुगा खोलेर टाँगिदिएको छ
टनटनी घाममा ओइलाएका
रूखका पालुवाहरुमाथि
भरे दर्शक जुटाउनु छ-
ट्वाँ परेर हेर्ने लाटाहरूको
देखाएर मक्ख पर्नु छ-
माकुरे भित्तामा अल्झिएका जालोझैं
लुगाले ओड़ेको पेन्टिङमा।
चुनौती
सधैं सधैं तिमी
जोरी मात्र खोज्छौ
हिमाल चढ़्नसक्छु भन्छौ
सागर तर्नसक्छु भन्छौ
आकाश छुनसक्छु भन्छौ
आकाशका तारा सप्पै गन्नसक्छु भन्छौ
देश-विदेश डुल्नसक्छु भन्छौ
लौ हारें म त तिमीसित।
त्यत्रो सामर्थ्य भएको तिमीलाई
यौटै प्रश्न छ मेरो-
के तिमी रसिलो कविता कथ्न सक्छौ?
मोह सङ्गीतको
अल्पेका रागहरूलाई भेट्न
सङ्गीतालयमा पस्न खोजेका पाइलाहरु
अनायास मोबाइलका बटनमा अड़िनपुग्छन
घरको सँघारमै
ल्यापटपको स्क्रिनमा सहनाई फुक्छ
बिस्मिल्ला खान।
कायापलट
जालहारीहरू जम्मै भेला भएका रहेछन
पाँचतारे होटेलको अघिल्तिर
ठूलो मान्छे भएको
रनेको पनातिलाई भेट्न
मोल माछाको यसपाली त पाउँछौं पाउँछौं भन्ने
भीमाशा लिएर।
साइरेनको आवाजले कानै थुनियो
भीड़भित्रको अनुहारभित्र रनेको प्रतिविम्ब
झुलुक्कमात्र देखे उनीहरूले
कतिबेला हो थाहै पाएनन
झोल पो खाँदै रहेछन
उनीहरूले जेलको सेलभित्र।
दुःसाहस
शिरमा आफै फेटा गुथेर
आउँछन भुइँफुट्टा जनापाहरू
पुर्पुच्छे जोर्न जण्डा धामीहरूसित
गुरूपूजाकै दिन रानीबनको देवालयमा।
चित पर्ने हुन कि जनापाहरू
जोरी खोज्ने हुँदा?
सतर्कता
चम्किरहेका देख्यौ
टल्किरहेका देख्यौ
आँखाहरु मूर्तिको?
दनदन आगोभित्र सल्किरहेको छ ऊ
त्यसैले उसका आँखाहरु
चम्किरहेका छन
टल्किरहेका छन
स्पर्श गर्ने धृष्टता नगर अहिले
तिमी स्वयं भस्म हुनेछौ।
नीलकण्ठ
ईश्वर!
आजैमात्र देखेको होइन मैले तिमीलाई
म जन्मँदा पनि देखेको थिएँ
तिम्रो चिमोट्याइले म रोएको थिएँ।
लौ नढाँटी भन त
तिमीले कस-कसलाई सिकायौ
म जन्मेको बेलामा चिमोट्ने विद्या?
आज मलाई यहाँ चिमोट्नेहरूको घुइँचो
यतिबिघ्न भइसक्यो
उनीहरुलाई त म प्रश्न गर्नै सक्दिनँ
जवाबदेही त तिमी नै हौ नि!
Wednesday, August 4, 2010
अनौठो भूल
कहिले पुगें हँ खोलाको किनारमा?
के हराएको थियो मेरो?
पानीबाट फुत्त निस्केर प्रश्न सोध्ने को हुन?
जिन्स पतलुनमा जलदेवता?
हातमा बञ्चरो लिएर सोध्दैछन-
"टलक्क टल्कने सुनको बञ्चरो तेरो?"
"चमक्क चम्कने चाँदीको बञ्चरो तेरो?"
"मेरो होइन प्रभो!"- भन्छु
"गह्रुँगो फलामको बञ्चरो तेरो?"
अनायस मुखबाट फुत्त जवाब निस्कन्छ-
"हो प्रभो, त्यो मेरो!"
गालामा एक चड्कन लगाउछन र
अल्पिन्छन जलदेवता
गाला मुसार्दै सोच्दैछु-
"टलक्क टल्कने सुनको बञ्चरो मेरो।"
"चमक्क चम्कने चाँदीको बञ्चरो मेरो।"
भन्नुपर्ने थिएछ
कस्तो हुस्सू म!
दिशा-स्वभाव
उत्तरबाट द्रुतवेगी अहङ्कारी चरो
दक्षिणबाट तीव्रवेगी अभिमानी चरो
आइपुग्छन पसल थाप्न चौरास्तामा सधैं
अनि घमण्डका पखेटाहरू फिजाउँदै
सातु-सामल बेच्छन लुते-लाङ्ग्रेलाई।
"तेरोभन्दा मेरो राम्रो।"
"तेरोभन्दा मेरो सुकिलो।"
भन्छन
र एकार्कालाई घुर्न थाल्छन
आँखा फुकाल्छन
ठुँङाठुँङ गर्छन
घम्साघम्सीको लठारोमा अल्झिँदै
रगतको मसीले भुइँभरि मानचित्र कोर्छन।
कस्तो विभेद?
पूर्वबाट हात बढ़ाउने चरो कति सुशील
पश्चिमबाट हात पसार्ने चरो कति धैर्यशील
युगौंदेखि टाड़ै छन
तर परस्परमा सधैं अभिवादन गर्छन
एकार्काको गुणगान गर्छन
उत्तर र दक्षिणको लुछाचुँड़ीलाई च्चः च्चः भन्छन।
हे प्रभो! किन नि चार दिशाको स्वभाव यस्तो सिर्जेको?
मायाजालमा बन्दी शब्दहरु-२३
अस्पृश्यताको मुकुट
देख्नुभएकै होला नि!
ओढ़ेको छु मुकुट अस्पृश्यताको
तपाईँहरूले त हो नि!
मुकुट ओड़ाइदिएका।
राजा भएको छु
शासनको लामो लठारो त तपाईँहरूकै हातमै छ नि!
राजा मात्र छु,
तटस्थ बसेर शासन गर्ने मुकुटे राजा
हिजोआज बिलखबन्दमा परेको छु।
अँ,
धेरै टाड़ो छु तपाईँहरूको जमातदेखि टाड़ो
भिन्नै प्रदेशमा छु।
भीरको त्यो तटस्थ तमर्के गाँठोले पनि
खिसी गरेको सपनामा देख्छु नि बेलाबखत
कापमा फुलेको फूलले
घामलाई मात्र दर्शन दिँदै लमतन्न परेजस्तो
अलमस्तै छु- अस्पृश्यताको मुकुट ओड़ेर।
छेकबार
पगितो समय कहाँ छ र मसित?
भ्याउँदिन रहेछु तिमीसम्म पुग्न।
साँझपखतिर यसो फुर्सद निकालेर
तिमीकहाँ पुगूँ भन्छु
तिम्रो मनको आँगन डुलूँ भन्छु
आफ्नो मनको व्यथा भुलूँ भन्छु
तर,
भ्याउँदिन रहेछु
अलपत्र रहेछन जिजीविषाका कोठेबारी।
गोड़्न भ्याएकै छुइनँ नि
आफूलाई यहाँ कामको कस्तो लठारो छ!
टुटुल्को उठेको छ नि मेरो निधारमा
तिमीले त कहाँ देख्छ्यौ र?
ए, तिम्रो त आँखा अपरेशन भएको हो नि!
आँखाहरू त तिम्रा पसिसकेका छन
चश्माको त्यो गहिरो गुफाभित्र
देख्दैनौ मेरो मुटुभित्रको गाँठो
फुकाउनै नसक्ने पो भएको छ त!
शङ्काका अनाम परिच्छेद्हरु
अहँ, पत्याउनै गाह्रो भो!
जिन्दगीलाई पाखा लगाउनै साह्रो भो
पहिल्याउँदै जाँदा अनायस भेटिन्छन
परिच्छेदहरू शङ्काका
एकलासमा पनि/ भीड़मा पनि
कोठेबारीमा पनि/ मैदानमा पनि
यस्तै यस्तै अनुभव भो।
यामहरू त उस्तै छन
हातेमालो गर्दै अघि बढ़्नै मान्दैनन
रूखका हाँगा हाँगामा फुल्नै मानेका छैनन
सुनाखरीका फूलहरू
चराका सुसेलीहरूले पनि पल्लै डाँड़ा काटिसके
एक झरी बर्खाको पानीले खेत भिजाउनै छोड़िसके
शङ्का छ- जीवनले वास गरेकै छ
आँगन र सिकुवाभरि?
हो त रहेछ-
हार्नै मानेका छैनन
विजयतिलकको सपना कन्दनीमा सिउरेर
मुलुक मार्न हिँड़ेका छन पाखुरेहरू
पाइलाहरु घिसाउँदै
पटपटी फुटेका खेतबारीमा
रहर फुलाउने आकाङ्क्षासितै।
शङ्काका यामहरूले सिङ्गौरी खेलेका दृश्यहरु छन
मनका आँगनहरूमा
पथिकहरू अभ्यस्त छैनन
मनपरी गरिहिड़्ने यामहरूका चर्तिकलासित।
दाम्लोले बाँधेर राखिएका छन
जीवनका पथहरू पनि
गोरुका निष्पाप गर्धनहरूमा
मृत्युको पर्व पर्खिन कतिबेर पनि लाग्दैन
वर्षिन्छन रगतका फूलहरू
गला-गलामा मालाहरू उनिएर।
ऋतुहरूले चोला फेरेका छन कि!
औजारहरू थन्क्याएर
ऋतुराज लमतन्न सुतेका छन कि!
शङ्काको बीज उमारेर?
पथहरूले छेकेका छन सीमाहरू मनहरूका
कसको सिर्जना हो यो? कसको आराधना हो यो?
पलेंटी कसेर सोचिबसेको छु-
शङ्काका अनाम परिच्छेदहरू कसले निर्माण गरेका हुन?
रेखाहरू ती क्षितिजका- मनहरूजस्तै: पृष्ठ-१
खोज्न निस्केको छु मनहरूलाई
मौनव्रत धारण गरेर बसेका छन क्यार!
अपारदर्शी नै छन क्षितिजका ती रेखाहरूझैं
कहाँ कहाँ अल्पिन पुगेका छन मनहरू
गुफाभित्रै पसेका होलान समाधिस्त बन्नलाई।
एकाबिहानै चारो टिप्न आउने एक जोड़ी परेवालाई
मैले झण्डै सोधेको-
"मनहरूको गुप्त ठेगाना कहाँ छ?" भनेर
मेरो अनुरोधलाई टार्न नसकेर
सेतो मजेत्रोले आफ्नो देह छोपेका सोझी परेवीले
ठेगाना बताइदिएकी भए
चोखो मायाको आहालमा डुबेका प्रेमी परेवाले
साँचो कुरो भनिदिएको भए
सहन हुन्थ्यो होला के त?
तत्क्षणै यात्रा प्रारम्भ गर्ने थिएँ हुँला
अनकण्टारको कठिन पथहरूमा हिँड़्दै जाँदा
कतै ठेस लागेर
हुरुक्कै त हुने थिइनँ होला नि?
सुटुक्कै झ्यालमा आएर
मलाई झुक्याउनखोज्ने/ जिस्काउनखोज्ने
अरुणाचल प्रदेशको पहाड़लाई देखाएर
मलाई मेरो पहाड़को सम्झना गराइदिएका भए
मनहरू समाधिस्त भएका गुफा त्यही हो भन्दै
त्यहाँसम्म पुग्ने अपारदर्शी बाटो औंल्याइदिएका भए
तत्कालै बाटो नाप्न पुग्ने थिएँ हुँला
उकालोका ती एकलास बाटोहरुमा चढ़्दै जाँदा
फतक्कै गलेर देवरालीमा सुस्ताउने त थिइनँ होला नि?
साह्रै जाती भयो-
चारो टिप्न आएका ती परेवाका जोड़ीलाई
मैले केही सोध्नै सकिनँ
मैले कुरा थुत्नै सकिनँ।
बरु निर्वाक लाटो भएर
अँजुलिभरिका कणिका धेरैपल्ट छरिदिएँ
व्यथाका अक्षरहरू कोरेर तिनीहरुको पोल्टोमा हालिदिएँ
टिपेका छन दानाहरू हत्केलाबाटै
विश्वासका व्यथाहरूसितै पोको पारेर।
व्यथाहरुलाई मन्दिरका गजुरभरि सिउरेर
घरिघरि प्रकट हुनपुग्छन
घरिघरि अन्तर्धान हुनपुग्छन
घत हेर्न कम्ती सिपालु छन र!
विश्वास बटुल्न कम्ती खप्पिस छन र!
ईश्वरले नै सिकाएर पठाएका हूँ क्यार!
Tuesday, August 3, 2010
रेखाहरू ती क्षितिजका- मनहरूजस्तै : पृष्ट-२
देखिँदैनन रेखाहरू पनि ती क्षितिजका
मनहरूजस्तै त हुन ती पनि
कहिले उज्यालोको बर्को ओड़ेर
कहिले अँध्यारोको सर्को तानेर
अपारदर्शी आकाशको वक्षभरि
टाँगिन पुग्छन ती रेखाहरू
मितेरी लगाउँ भन्दैछु ती रेखाहरूसित
हातमा हात पक्रेर मनको नदी तरौं भन्दैछु
पछ्यौरी समातेर क्षितिज़ नै काटौं भन्दैछु।
रेखाहरुलाई क्षितिजको पछ्यौरी पक्रेर हाँसेको देख्नेले
कहिल्यै खुशीको सन्देश सुनाएनन
रेखाहरुलाई क्षितिजको सिउँदो पुछ्दै रोएको देख्नेले
कहिल्यै दुःखको सम्चार पठाएनन।
ती रेखाहरू भाग्यशाली होइनन
ती रेखाहरू अभागी पनि होइनन
टुहुरा पनि त होइनन
मनहरूजस्तै हुन ती रेखाहरू पनि
कुहिरोझैं कहिले रुमलिँदै- धरतीमा
बादलका भुवाहरूझैं कहिले रगत छर्किँदै आकाशमा
मनपरी डुलिहिँड़्ने गर्छन
जताततै निर्वाधगतिमा उड़िहिँड़्ने गर्छन।
कहिलेकाहीँ थाकेर अलन्तरमा पर्दै विश्राम लिन खोज्छन
कहिलेकाहीँ विक्षिप्त भएर दोबाटोमै निश्वास लिन खोज्छन।
क्षितिजका रेखाहरू र मनहरूलाई
टाड़ाबाट नियाल्दा साँच्चै
आफन्त जस्ता लाग्छन।
कहिले तर,
नजीकबाट चिहाउँदा
साँच्चै बिराना जस्ता लाग्छन।।
बज्यूको दन्तेकथा
लामो अवधिपछि यसपालीको याम
पर्खेरै बसेको छु दन्तेकथा
अगेनु वरिपरि झुम्म बसेर
एकहूल केटाकेटीहरूको निद्रा पनि
अभिलाषा साँचेर जागै छन
'बज्यूको मुखारबिन्दबाट सुन्छौं रमाइलो दन्तेकथा!'
गुन्द्रीमा बसिरहेकी बज्यू
एकाएक कहाँ हराएकी थिई यतिञ्जेलसम्म?
उत्तरहरू होइनन तर यो दन्तेकथाको
पिँधिराखेर जाँतोमा एक पाथी मकै
कुटिराखेर ढिकीमा एक धार्नी धान
क्षितिज़ नै काटिसकेकी रहिछे बिचरी बज्यूले!
भन्छिन बज्यू हाँस्दै मरीमरी-
"मर्नै भयो सर्केर बाजेलाई
मेलोमा सातु खाँदा
ठेला उठेको हातले आफ्नै गाला मुसारेर
पुर्लुक्कै कान्लामा पल्टिँदा
झुल्किन आएको अजिङ्गरजस्तो सपना
एकछिनको झमक्क निद्राभित्रै
भागेछ पल्लै डाँड़ा काटेर बाजेको सपनाले।"
मेरी बज्यू-
मेरो सपनामा पो आउँछिन सधैं
लामो समयपछि माइतबाट फर्केकी दुलहीझैं
हातमा एक ठेकी दही
र
एक पोको चिउरा बोकेर
थचक्क पिँढ़ीमा बस्दै दन्तेकथा पस्कन्छु भन्छे
अगेनु वरिपरि बसेका केटाकेटीलाई।
साइनो माया लाग्छ नि हजुर!
अक्कासिएको मेरो मनलाई
सन्तुलित राख्ने उपक्रमसितै
सेखी झार्न आउने वैरीको पाइलासित पाइला दाँज्न
अघि सारेको पो थिएँ
मेरा पाइलाहरूलाई
साइनो मेट्न कहाँ खोजेको हो र?
के भन्नुहुन्छ हजुर!
पर्वत श्रृङ्खलासितको साइनो मेरो
बिहानको एक चुस्की चियासितै
मेरो झ्यालमा सुटुक्कै आएर
नानावलीका सुसेलीहरू सुसेल्ने
कञ्चनजङ्घासितको वार्तालाप सुनेर
मुसुक्कै मुस्काउने
सपनाको ऐनामा कपाल बाट्ने मेरी उसको
मृदु मुस्कानहरू पनि कोसेली भएर
कङ्कालमात्र आइपुग्छ टेलिफोनको लहरामा।
कस्तुरी मृगको खोजीमा
निस्केको कहाँ हो र शिकारी बनेर?
हेपेर कहाँ निस्केको हो र जीवनलाई
अँजुलीभरी उल्लासको सयपत्री फुलाउन?
चोइटाहरू छन बरू मनको आँगनमा जिजीविषाका।
माया लाग्छ नि मलाई हजुर!
हराइपठाउन लागेको साइनोको
दशैंको दिनमा आशिकको टीको निधारमा टाँसेर
लिङ्गेपिङमा मच्चिएको सम्झना आउँछ-
"आम्मै, तपाईं त कस्तो हौ!
मच्चाएर जिन्दगीलाई अपरिमेय आकाशमा
अन्योलमा पारेर जानुहुने रहेछ नि परदेशमा
छोड़ेर अमेट सम्झनाको धागो
बाटिरहूँला म ता/ बुनिरहूँला म ता
पिरतीको बलियो गाँठो
सम्झनाको कसिलो अँगालोमा।"
सपनाभरि कति माया लाग्ला नि साइनोको?
अनन्त क्षितिजको पर्दा च्यातेर
हेरिरहूँला मुहार तिम्रो भन्दै हल्लाएका बिदाइका हातहरु
सम्हालेर राखेको छु
खोलेर हेर्न नपाउँदा आहत भएका मुहूर्त्तहरू।
मुहूर्त्त पनि- कस्तो निष्ठुरी रहेछ नि!
तपाईं सोच्नुहुन्छ- लाग्दैन माया साइनोको भनेर?
हजुर! मलाई त माया लाग्छ/ लागिरहन्छ साइनोको।
कविता क्रमश: कविता-१
पर्खाल रहेछ अजङ्गको
कविताको बाटोमा
पुग्न सकिएन सजिलै।
०००
सपक्कै बाटेकी छे शकुन्तलाले
कविताको चुल्ठो
बलात्कारको सिउँदोमा।
०००
झ्याल उदाङ्गै राखेछन
रातभरि कविले
जूनको शीतल पहिरनसितै-
कविताको प्रतीक्षामा।
०००
भोको पेटमा
गुन्दुकको झोलको स्वाद
कविताले मनग्गे पस्कियो।
०००
हत्याराको पापी हातमा लागेको
मैला रगत
पुछिएन कविताको तौलियाले।
०००
बिमारी छोरीले मागेकी छे
हर्लिक्सको बोतल
झोलामा सुटुक्कै पसेछ-
कविताको धुस्रे अनुहार।
०००
प्रिये नरिसाऊ!
तिमीसम्म पुग्ने बाटो
झ्वाम्मै छोपेको छ-
कविताको लहराले।
०००
ग्वाम्लाङ्गै ओड़ेको छु
कविताको धुसा
माघको ठिहीमा-
जिन्दगीको।
०००
जिप्टिएको छ सौन्दर्य तिम्रो
कविताका नङहरूमा
शब्दको `नेल-पालिस' भएर।
०००
आवेदन आयो
मेरो टेबलमा- कविताको
`होलीडे-ड्यूटी' नगर्ने रे!
०००
डढ़ेलो लागेछ दिउँसै
कविताको जङ्गलमा
अनावृष्टिले।
०००
Wednesday, July 21, 2010
कविता क्रमश: कविता-२
ओथारो बसेको छ
कविताको माऊ
कल्पनाको अण्डा छोपेर।
०००
सुटुक्कै पसेछ कविता
रक्सीको घुट्कोसितै
कविको पेटभित्र-
कहिल्यै ननिस्कने गरी।
०००
बिहानै पस्केकी छे मेरी उसले
एक छाक कविता
सुटुक्कै मेरो थालमा।
०००
पगली बज्यूको
नाङ्गो मैला फिलामा
ट्याप्प टाँसिएछ
कविताको परिधान।
०००
स्कूल भागेको छ
धेरैपल्ट कविता
मेरो सिर्कनाको डरले।
०००
सेताम्मे भएर फुलेछ
कविताको फूल
मनको चुचुरा-चुचुरामा।
०००
चुर्लुम्मै भिजेछ कविता
ओत नपाएर
मुसलधारे पानीमा।
०००
फत्रक्कै गलेको छ
खुट्टाको गेँड़ी-गेँड़ीसम्म
डाँड़ामा उक्लिसकेको-
कवितालाई पछ्याउँदा।
०००
साहित्य!*
तिमीजस्तै ठुस्कन्छे
कविता पनि कहिलेकाहीँ
मेरो मायाको अभावमा।
०००
*मेरी धर्मपत्नी
ग्राहक-२
तपाईं कविता किन्न आउनुभएको?
कविताको मुटु छाम्न सक्नुहुन्छ तपाईं?
उसोभए, हेर्नुहोस
मेरो छातीमै टाँसिदिएको छु नि कवितालाई!
तपाईंको हात काँड़ेदार त छैन?
तपाईंको हात यदि काँड़ेदार छ भने
तपाईं नजिकमा नआउनुहोस
मेरो कविता तपाईंलाई देखेर चम्पट लाउन पनि सक्छे।
साह्रै कोमल पो छे त ऊ
आकाशमा घरिघरि उड़्न चाहन्छे।
कविता किन्नको निम्ति के ल्याउनुभाएको छ तपाईले?
यदि आह्रिस र इर्ष्याका मुद्राहरू
तपाईंको खल्तीमा नाचिरहेका छन भने
तपाईंको हातमा म कसैगरी कविता थमाउन सक्दिनँ
मलाई साह्रै भन्दा साह्रै डर लाग्छ
मेरो कवितालाई तपाईंले
झापट लाउनुहुनेछ,
भकुर्नुहुनेछ
र
चबाउँदै चबाउँदै डस्टबीनमा फ्याँक्नुहुनेछ भनेर।
तपाईंले सोच्नुभएझैं मेरो कविता
मासुको टुक्रा पनि होइन
अनि कसाईको पसलमा मृत्युको क्षण गनिरहेको
बाख्राको पाठा पनि होइन मेरो कविता।
यदि तपाईंले मेरो कवितालाई
कसाईले झैं रेट्दै-रेट्दै ह्त्या गरिदिए
भोलीको खबरकागजको आवरणपृष्ठमा उसको तस्वीर छापिनेछ
त्यतिखेर मेरो अन्तरात्मा साह्रै रुनेछ
मलाई बाँच्नै गाह्रो पर्नेछ भनेर
तपाईंलाई के थाहा?
तपाईंलाई भन्दैछु-
मेरा कविताका ग्राहक एकैजना छन अहिले
जसले आफ्नो मुटु बन्धक राखेर
मेरो कवितालाई छातीमा टँसाएर लाने गर्छन।
भोली उनी कविता फर्काउन पक्कै आउनेछन
म उनलाई उनको मुटु फर्काइदिनेछु
तर मेरो कविता भने उनैलाई सुम्पिदिनेछु
मलाई दृढ़ विश्वास छ की उनी साह्रै दयालु छन
कवितालाई प्रेम गर्ने उनको आत्मा छ
प्रेमको परिभाषा खोजिहिँड़्ने प्रेमी उनी पक्कै होइनन।
तपाईंले पनि जानिराखेको बेस होला
कि शब्दकोशको एउटा-एउटा पृष्ठ पल्टाएर हेर्नुहोस
प्रेमको नाम अपराध भनेर कहीँ लेखिएको छैन।