Thursday, August 5, 2010

मायाजालमा बन्दी शब्दहरु-२०
प्रेमको पोट्रेट
प्रेमको बाक्लो रङले कोरेको
आफ्नै पोट्रेट
धोइदिएको छ आँसुको फिँजले
लथालिङ्गै पारेर
सुल्झिनै नसकिने
समस्याको धोबी-तलाउमा।

पलायन मृत्युसितको
प्रत्येक साँझ लखतरान देहलाई
उराठिला क्षणका लट्ठी टेकाउँदै
आफ्नै लाश काँधमा बोकाएर
श्मशानघाट प्रवेश गर्छु
अलिकति जीवन बाँकी छ कि?
छामिहेर्छु,
घुटुक्क थुक निल्छु,
मन्दगतिमा चलेको मुटुको धुकधुकी सुन्छु
अहँ,
यमराजको द्वार राम्रोसित ढप्काएको देख्दिनँ
सुटुक्कै भागेर जिन्दगीतिर फर्किआउँछु।

विचित्र कला
लुगा खोलेर टाँगिदिएको छ
टनटनी घाममा ओइलाएका
रूखका पालुवाहरुमाथि
भरे दर्शक जुटाउनु छ-
ट्वाँ परेर हेर्ने लाटाहरूको
देखाएर मक्ख पर्नु छ-
माकुरे भित्तामा अल्झिएका जालोझैं
लुगाले ओड़ेको पेन्टिङमा।

चुनौती
सधैं सधैं तिमी
जोरी मात्र खोज्छौ
हिमाल चढ़्नसक्छु भन्छौ
सागर तर्नसक्छु भन्छौ
आकाश छुनसक्छु भन्छौ
आकाशका तारा सप्पै गन्नसक्छु भन्छौ
देश-विदेश डुल्नसक्छु भन्छौ
लौ हारें म त तिमीसित।
त्यत्रो सामर्थ्य भएको तिमीलाई
यौटै प्रश्न छ मेरो-
के तिमी रसिलो कविता कथ्न सक्छौ?

No comments:

Post a Comment