Wednesday, August 4, 2010

मायाजालमा बन्दी शब्दहरु-२४
शङ्काका अनाम परिच्छेद्हरु
अहँ, पत्याउनै गाह्रो भो!
जिन्दगीलाई पाखा लगाउनै साह्रो भो
पहिल्याउँदै जाँदा अनायस भेटिन्छन
परिच्छेदहरू शङ्काका
एकलासमा पनि/ भीड़मा पनि
कोठेबारीमा पनि/ मैदानमा पनि
यस्तै यस्तै अनुभव भो।
यामहरू त उस्तै छन
हातेमालो गर्दै अघि बढ़्नै मान्दैनन
रूखका हाँगा हाँगामा फुल्नै मानेका छैनन
सुनाखरीका फूलहरू
चराका सुसेलीहरूले पनि पल्लै डाँड़ा काटिसके
एक झरी बर्खाको पानीले खेत भिजाउनै छोड़िसके

शङ्का छ- जीवनले वास गरेकै छ
आँगन र सिकुवाभरि?
हो त रहेछ-
हार्नै मानेका छैनन
विजयतिलकको सपना कन्दनीमा सिउरेर
मुलुक मार्न हिँड़ेका छन पाखुरेहरू
पाइलाहरु घिसाउँदै
पटपटी फुटेका खेतबारीमा
रहर फुलाउने आकाङ्क्षासितै।
शङ्काका यामहरूले सिङ्गौरी खेलेका दृश्यहरु छन
मनका आँगनहरूमा
पथिकहरू अभ्यस्त छैनन
मनपरी गरिहिड़्ने यामहरूका चर्तिकलासित।

दाम्लोले बाँधेर राखिएका छन
जीवनका पथहरू पनि
गोरुका निष्पाप गर्धनहरूमा
मृत्युको पर्व पर्खिन कतिबेर पनि लाग्दैन
वर्षिन्छन रगतका फूलहरू
गला-गलामा मालाहरू उनिएर।
ऋतुहरूले चोला फेरेका छन कि!
औजारहरू थन्क्याएर
ऋतुराज लमतन्न सुतेका छन कि!
शङ्काको बीज उमारेर?

पथहरूले छेकेका छन सीमाहरू मनहरूका
कसको सिर्जना हो यो? कसको आराधना हो यो?
पलेंटी कसेर सोचिबसेको छु-
शङ्काका अनाम परिच्छेदहरू कसले निर्माण गरेका हुन?

No comments:

Post a Comment