Thursday, August 5, 2010

मायाजालमा बन्दी शब्दहरु-२१
मोह सङ्गीतको
अल्पेका रागहरूलाई भेट्न
सङ्गीतालयमा पस्न खोजेका पाइलाहरु
अनायास मोबाइलका बटनमा अड़िनपुग्छन
घरको सँघारमै
ल्यापटपको स्क्रिनमा सहनाई फुक्छ
बिस्मिल्ला खान।

कायापलट
जालहारीहरू जम्मै भेला भएका रहेछन
पाँचतारे होटेलको अघिल्तिर
ठूलो मान्छे भएको
रनेको पनातिलाई भेट्न
मोल माछाको यसपाली त पाउँछौं पाउँछौं भन्ने
भीमाशा लिएर।
साइरेनको आवाजले कानै थुनियो
भीड़भित्रको अनुहारभित्र रनेको प्रतिविम्ब
झुलुक्कमात्र देखे उनीहरूले
कतिबेला हो थाहै पाएनन
झोल पो खाँदै रहेछन
उनीहरूले जेलको सेलभित्र।

दुःसाहस
शिरमा आफै फेटा गुथेर
आउँछन भुइँफुट्टा जनापाहरू
पुर्पुच्छे जोर्न जण्डा धामीहरूसित
गुरूपूजाकै दिन रानीबनको देवालयमा।
चित पर्ने हुन कि जनापाहरू
जोरी खोज्ने हुँदा?

सतर्कता
चम्किरहेका देख्यौ
टल्किरहेका देख्यौ
आँखाहरु मूर्तिको?
दनदन आगोभित्र सल्किरहेको छ ऊ
त्यसैले उसका आँखाहरु
चम्किरहेका छन
टल्किरहेका छन
स्पर्श गर्ने धृष्टता नगर अहिले
तिमी स्वयं भस्म हुनेछौ।

नीलकण्ठ
ईश्वर!
आजैमात्र देखेको होइन मैले तिमीलाई
म जन्मँदा पनि देखेको थिएँ
तिम्रो चिमोट्याइले म रोएको थिएँ।
लौ नढाँटी भन त
तिमीले कस-कसलाई सिकायौ
म जन्मेको बेलामा चिमोट्ने विद्या?
आज मलाई यहाँ चिमोट्नेहरूको घुइँचो
यतिबिघ्न भइसक्यो
उनीहरुलाई त म प्रश्न गर्नै सक्दिनँ
जवाबदेही त तिमी नै हौ नि!

No comments:

Post a Comment