Saturday, November 16, 2013

अम्मल!  
हैकमको बजारमा
चर्दैछन् 
अम्मली भेँड़ाहरू
 
भीरको टुप्पोबाट झरेर मर्दैछन्
भविष्यको चट्टानमा।
कति मरिसके भेँड़ाहरू?
औला भाँचेर गन्ती गर्दैछन्
बैदार समय।

Wednesday, August 17, 2011

शब्दहाट
१.
आलो घाउमा
नुनचूक छर्न
खप्पिस उनी
उनको विद्याश्रम दर्शन गर्ने
साइत कहिले जुर्ला नि!
२.
बज्रकठोर हातले
कविताको कोमल मुटु
स्पर्श गर्दा
ठहरै हुँदैन र?
३.
भत भत पोल्ने भाबरमा
तड़पिरहेको रोगी
जीवनको पीढ़ालाई
चट्टै पार्ने मृत्युमय ओखती कुट्ने
ओखली कस्तो छ नि?
४.
जल्यौ तिमी
ईर्ष्याको आगोमा?
म त उनिएँ नि
मर्मको धागोमा!
५.
तप तप गर्दै
के चुहिबसेको त्यसरी
आँसु?
गोहीको को पो त!
भनिदियौ
मृगनयनी तिमीले।
६.
झसङ्ग ब्यूझिएँ
आँखा टट्टाइरहेको थियो
मलेको मात्र थिएँ आँखा
सपनाहरु पो लिपिएछन
कचेरासितै- अनुहारभरि!
७.
सूर्यलाई हातकड़ी लगाएर
प्रहरीहरूले सधैं
कुन जेलखानामा
पुरयाउँछन कुन्नि!

Thursday, October 7, 2010

अशक्यता

गहिरा तिम्रा ती दुइ आँखाभित्र

झ्वाम्म हाम फाल्न सक्दिनँ नि म।

डुबुल्की मारी सिपी खोज्नु त कहाँ हो कहाँ

आफ्नै मुटुभित्र बिझेको

मइनकाँड़ा झिक्न पनि सक्दिनँ नि म।

सन्त

यो भित्ते घड़ी अझै चेतेको छैन

टिक टिक गर्दै कतिको ज्यान खाइसक्यो

त्यसको हिसाप योसित छैन।

सिँहासनमा गजधम्म अड़ेस लागेर विराजमान

न आँसु झार्नु छ आँखाबाट

न मुस्कान छोड़्नु छ ओठबाट।

डर पो लाग्दैछ मलाई त

अकालमा खिएको जाबो यो शरीर

लमतन्न परेको हेर्नलाई

मूक दर्शक बन्न पनि बेर छैन!

Tuesday, August 17, 2010

গ্ৰাহক

আপুনি কবিতা কিনিবলৈ আহিছে নে কি?
কবিতা জুখিব জানে আপুনি?
তেন্তে, চাওক
আঁৰি থৈছোঁ মোৰ বুকুতে।
আপোনাৰ হাতখন কাঁইটীয়া নহয়তো?
যদি কাঁইটীয়া হয়
আপুনি ওচৰলৈ নাহিব
পলাই পত্ৰং দিব পাৰে মোৰ কবিতাই
কুমলীয়া তুলাৰ দৰে তাই
আকাশলৈ ঊৰি যাব খোজে বাৰে বাৰে
কি আনিছে আপুনি কবিতা কিনিবলৈ?
যদি হিংসা আৰু ঈৰ্ষাৰ খুচুৰা পইচা
আপোনাৰ জেপত নাচি আছে
মই তুলি দিব নোৱাৰোঁ মোৰ কবিতা আপোনাৰ হাতত।
মোৰ বিৰাট ভয় মোৰ কবিতাক কিজানি আপুনি
চৰিয়াই দিব, গুৰিয়াই দিব
আৰু চোবাই চোবাই ডাষ্টবিনত পেলাই দিব।
আপুনি ভবাৰ দৰে মাংসৰ টুকুৰাও নহয় মোৰ কবিতা
আৰু কচাইৰ দোকানত ম‌ৃত্যুৰ ক্ষণ গণি থকা ছাগলি।
কচাইৰ দৰে যদি ৰেপি ৰেপি হত্যা কৰে আপুনি
বাতৰি কাকতৰ প্ৰথম পৃষ্ঠাত তাইৰ ছবি ওলাব
মোৰ অন্তৰে কিমান যে হাহাকাৰ কৰিব
জীয়াই থাকিবলৈ টান হ’ব
সেই কথা তো বুজিবলৈ অপাৰগ আপুনি।
আপোনাক কৈ থৈছোঁ
মোৰ কবিতাৰ গ্ৰাহক এজন
যিজনে তেওঁৰ হৃদয়খন বন্ধকত থয়
আৰু মোৰ কবিতাক নিজৰ বুকুত সুমুৱাই লৈ যায়
কাইলৈ তেওঁ নিশ্চয় আহিব কবিতা ঘুৰাই দিবলৈ
মই তেওঁৰ হৃদয়খন ঘুৰাই দিম
কিন্তু, মোৰ কবিতা ঘুৰাই নলওঁ।
মোৰ বিশ্বাস তেওঁ বৰ মৰমিয়াল
কবিতাক মৰম দিব জানে
ভালপোবাৰ পৰিভাষা বিচাৰি ফুৰা প্ৰেমিক তেওঁ নহয়।
আপুনিওঁ জানি থোৱা ভাল
শব্দকোষৰ এটি এটি পাত লুটিয়াই চাব
ভালপোৱা অপৰাধ বুলি ক’তো লিখা নাই।




विज्ञापन अनि हाम्रा कविता
नेपाली साहित्यमा अब राम्रा कविहरुको अभाव छैन। छँदैछैन, पटक्कै छैन।
हामीसित छन धेरै कविहरू जसले कोरा भावुकतालाई मात्र आफ्ना कविताहरुमा स्थान नदिएर कवितालाई सही ढाँचामा ढाल्नको निम्ति कठोर परिश्रम गरेका छन। अनि साँच्चै नै उनीहरुका कविताहरू कविताकै ढाँचामा रूपायित छन जसले विश्वस्तरमै पनि प्रतिस्पर्द्धा गर्न सक्षम छन भनेर हामी भन्न सक्छौं। किनभने हामीले पनि विश्वका चर्चित कविहरुका थोरे भए पनि कविताहरू अध्ययन गरिसकेका छौं। उनीहरुका कविताहरुभन्दा हाम्रा सर्जकहरूका कविता अलिकति पनि कमसल हामीलाई लाग्दैन।
बरू लाग्छ, अझ प्रखर! अझ तेज!!
तर, संसार अहिले विज्ञापनको भरमा बाँचेको छ। विज्ञापनकै कारणले गर्दा अरूहरूका साहित्य उपल्लो दह्रिएका छन। यसको प्रत्यक्ष दृष्टान्त भर्खरै अस्कर पुरस्कारप्राप्त स्लमडग मिलिअनेअर चलचित्रलाई लिन सकिन्छ। स्लमडग मिलिअनेअर एउटा उत्कृष्ट चलचित्र हो भन्नमा कुनै दुईमत छैन तर यतिकै राम्रा अनि बरू यसभन्दा पनि उत्कृष्ट भारतीय चलचित्रहरु नबनेका होइनन जसले अस्कर पुरस्कार प्राप्त गर्न सकेनन। किनभने ती निर्माता अनि कलाकारहरूमा केवल चलचित्र निर्माण गर्ने अनि कला प्रदर्शन गर्ने मात्र दक्षता थियो तर विज्ञापन गर्ने, लबी गर्ने कला र स्रोत-साधन उनीहरूसित चाहिएजति थिएन। अर्कोतर्फ स्लमडग मिलिअनेअर चलचित्रसित विदेशीहरुको विशेष संलग्नता थियो अनि विज्ञापन गरिनुपर्ने सही ठाउँमा उनीहरुकै दबदबा थियो।
हाम्रा कला, साहित्य प्रतिभाहरुको मूल्याङ्कन विश्वमा यसरी हुँदोरहेछ भन्ने कुरा स्लमडग मिलिअनेअर-ले उदाङ्गो पारेको छ। तर खेद्को कुरो जतिबेला हामी दुःखी हुनुपर्ने, ठीक त्यतिबेला हामीले उत्सव मनाइरहेका छौं। यो हाम्रो कस्तो विडम्बना?
विज्ञापनले मात्र तर कुनै कृति उत्कृष्ट बन्दैन, यो सोह्रै आना सही हो। विज्ञापन गरिनुपर्ने कृतिमा गुणात्मक पक्ष प्रबल हुनैपर्छ। तर हाम्रा सर्जकहरूका कृतिहरूमा गुणात्मक पक्ष यति दह्रिलो भएर पनि किन नगण्य छ भन्ने प्रश्न उठेमा विज्ञापनको न्यूनतालाई हामी अघि राख्न सक्छौं। विज्ञापनमा विश्वास गर्ने हाम्रा सोझा पाठकहरूलाई अब हाम्रा कविताहरूतर्फ पनि त्यतिकै चासो राख्ने बनाउन सकिन्छ भन्ने हामीमाझ ठूलो चुनौती खड़ा छ। हाम्रा कृतिहरू कसैले स्वेच्छाले किन्दैनन। हाम्रा कृतिहरू पढ़िदिने सहृदयी पाठकहरु छैनन। कतिपय लेखकहरूले ठूला-ठूला हाँक पिटे पनि तीतो यथार्थलाई उनीहरूले आफ्ना हृदयभित्र लुकाएर राखेका छन। हाम्रै समाजभित्र हाम्रा कृतिहरुको यस्तो दुर्दशा छ।
यस्तै प्रतिकूल परिस्थिति र परिवेशबाट हामीले प्रकाशनयात्राको शुरुआत गरयौं। जान्दाजान्दै कि यो यात्रा अति विकटिलो छ। नेपाली साहित्य विश्वमा कुन स्थानमा छ त्यसको निर्धारण हुन बाँकी नै छ। थाहा छ तर यतिचाहिँ नेपाली साहित्यको स्थान नगण्य छ, भारतीय साहित्यको परिप्रेक्ष्यमा पनि। यस्तो हुनको कारण पत्तो लाउन सर्वेक्षण हुनुपर्ने ठुलो आवश्यकता छ। हामीमा आत्मालोचानाको कमी छ। यसैले यो रहस्यको गाँठो फुस्कन सकेको छैन अद्यापि।
भारतीय नेपाली साहित्यका एकाध मानिएका लेखकहरूका कृतिहरूले कतिसम्म पाठकहरु पाएका छन? यो पनि एउटा गतिलो प्रश्न छ हामीसित। कविताका पुस्तकहरू पाँच सय प्रतिभन्दा बेसी कहिले छाप्नु हामीले? कहिले हाम्रा पुस्तकहरू हारालुछ हुनु पाठकहरूमाझ? यस्ता कैयौं समाधानहीन समस्याहरु छन हामीसित।
के हाम्रा कविताहरुमा निहित घनत्वले विश्वलाई बोक्न सक्दैना? के हाम्रा कविताहरुमा विश्वस्तरका कविताहरुमा पाइने बास्ना छैन? छ, अवश्य छ। तर ती मोहक बास्नालाई हाम्रै बुद्धिजीवीहरूले कहिले अनुभूत गर्ने अनि कहिले यसको महक विश्वभरि फिँजाउने? तर, यी समस्याहरुका समाधान अवश्य हुनेछन एकदिन। त्यसैले लागिपरेका छन हाम्रा सर्जकहरू सिर्जनामा अनि अझ अब्बल सिर्जनामा। एकदिन अवश्य यस्तो आउनेछ। जब हाम्रा कृतिहरू अन्तर्राष्ट्रिय भाषाहरूमा लाखौंको संख्यामा छापिनेछन, हाम्रा पुस्तकहरूले पनि विश्व साहित्यमा प्रचार-प्रसार पाउनेछ। बस! त्यही दिनको प्रतीक्षा छ!
शुभस्य शीघ्रम!
मिरभ कम्प्युटेक प्रिन्टर्स
बतासे कोइरी, घूम, दार्जीलिङ
३.३.०९
अपितु
कवितासित त कसैगरी पनि म मन दुःखाउन सक्दिन। तर लामो समयसम्म कुन्नि किन कविताले मसित मन दुःखाइरही। मैले उसलाई नबोलाएको पनि होइन। बिहान, दिउँसो, राती कुनै समय बाँकी छैन, फुर्सद पाउनसाथ उसलाई बोलाएर वार्तालाप गर्ने मनसाय बनाएकै हुँ। फुस्लाउने चेष्टा गरेको हुँ, फकाउने प्रयत्न पनि गरेकै हुँ। फकाएर, फुस्लाएर आफ्नो कोठामा ल्याउने, बसाउने प्रयास गरेकै हुँ। एककुनामा केहीबेर चुपचाप बसेपछि कुन्नि के हुन्थ्यो उसलाई, ठुस्केर मैले चालै नपाई कहाँ जान्थी-जान्थी। यसचोटि भने उसले मेरो दयनीय अवस्था देखेर होला, साथ छोड़ेकी छैन। मलाई अँगालो हालेर बसिरहेकै छे। मैले पनि उसलाई अँगालोदेखि मुक्त हुने अवसर प्रदान गरेको छुइनँ। मलाई ऊ सधैं यसरी मेरो समीपमा बसिरहेकी नै मनपर्छ, मेरो उदास अनुहारमा उसले मुस्कान पोतेकी नै मनपर्छ।
मेरो अघिल्लो सन्तान 'आत्मसम्मोहन र घाइते शब्दहरू'-लाई खेल्ने साथी चाहिएको थियो। घरिघरि मेरो कानमा भनिबस्थ्यो उसले- "भुक्लुक्क परेको भाइ ल्याउनुहोस न एउटा!" यसपाली ल्याइदिएको छु उसलाई उसको जन्म भएको चौध वर्षको लामो अन्ततरालपछि। नाम पनि उसको नामसित मेल खाने राखिदिएको छु- `मायाजालमा बन्दी शब्दहरू' भनेर। यातिका दिनसम्म उसले नियास्रो समय बितायो, खेलुन अब भाइसित मनग्गे। "भाइलाई माया गर्नु, अरूले भाइलाई सर्काइदेलान, फुर्काइदेलान, माया गरिदेलान, तिमीले चित्त नदुःखाउनु। मलाई त तिमीहरु दुवैको उत्तिकै माया लाग्छा। तिमी त ठूलो भयौ अब, संसार बुझ्ने भइसकेको छौ, परिपक्व भइसकेको छौ।" भनेर उसलाई टाउको मुसार्दै सम्झाएको छु। मलाई थाहा छ उसले मेरो कुरालाई मान्नेछ र भाइलाई सँगसँगै डोहोरयाएर हिँड़ाउनेछ। उसको भाइ टुकुटुकुल हिँड़्ने भएपछि उसले "आफै हिँड़ अब।" भन्नेछ। खुट्टा लागेपछि त आफ्नै खुट्टामा हिँड़्न दिनुपरयो नि!
शब्दको मायाजालमा म परें कि मेरो मायाजालमा शब्द परयो खुट्याउन गाह्रो भइरहेको छ। भावनाको मायाजालमा भने शब्द र म दुवै परेका हौं, पौंठेजोरी पनि खेलेका हौं हामी दुवैले। कहिले उसले मलाई भुइँमा पछारेको हो अनि कहिले मैले उसलाई पछारेको पनि सत्य नै हो। फेरि सम्झौताको यौटै सिह्रानीमा हामीले आँसु पनि झारेका हौं। भावनाको मायाजालबाट म त सुटुक्कै फुत्किएर बाहिर निस्किएँ, शब्द भने भावनाको मायाजालबाट फुत्कन सकेन, बल्छीमा परेको माछाजस्तो अल्झिरह्यो। त्यसैले अहिले ऊ बन्दी छ, फुत्कन सक्दैन पनि कहिल्यै। म भने अब कुन शब्दलाई बन्दी बनाऊँ भन्ने ताकमा छु। कस्तो निर्दयी नि म!
शास्त्रसम्मत कविता सिर्जना हुँदैन, यतिचाहिँ थाहा छ मलाई। शास्त्रेतर कविता रचना गरेर मैले अपराध पक्कै गरिनँ, त्यो पनि थाहा छ। पाठक, समालोचकको धारिलो हातको सिर्कना बेहोर्न मेरो नाङ्गो पिठ्यूँ सधैं तैयार छ। पाठ सुधार्नलाई सधैं सिर्कना बेहोर्न तैयार रहनुपरयो नि! यसमा मेरो खति छैन, फायदा नै फायदा छ।
यसपाली चाहिँ मलाई पक्कै विश्वास भयो- लेखनको निम्ति नैतिक प्रोत्साहनले ठूलो बल प्राप्त गर्दोरहेछ। "राईदा, आपूनि भाल कविता लिखिब जाने, सङ्कलन उलियाउक।" (राईदा, तपाईंले राम्रो कविता लेख्नुहुन्छ, कविता-सङ्कलन निकाल्नुहोस।) भनेर भनिरही यसचोटि। कत्रो ठूलो प्रेरणा, शक्ति लुकेर बसेको हुँदोरहेछ यस भनाइमा। सबैले कहाँ भन्दा रहेछन र यसरी! धन्यबाद दिएर मात्र म पार पाउन सक्छु? वर्णाली-सित वाचा गर्छु जीवनभरि सम्झनादेखि तिमी टाड़ो हुँदिनौ भनेर!

प्रकाशनको क्षेत्रमा बामे सरिरहेको मिरभ प्रकाशन, दार्जीलिङ-लाई फलोस, फुलोस भन्ने शुभकामनासहित मेरो दोस्रो कविता-सङ्कलनलाई छापिदिने ठूलो जिम्मेवारी लिएर मेरो छाती नाङ्लोजत्रो बनाइदिएकोमा फूलले नाङ्लो सजिएसरह अजस्र धन्यबाद्हरू!
अन्तमा, मलाई अनि मेरा कवितालाई मनपराइदिने सप्पैलाई मेरो तर्फबाट मुटुभरिको सलाम!
किरणकुमार राई
तेजपुर, असम
१९.०२.२००९

Monday, August 16, 2010

मायाजालमा बन्दी शब्दहरु-१
समयको नृत्य
चिप्लेर खसेको छ
तारेभीरबाट
समय
डङ्गै उत्तानो पछारिएको छ
चप्लेटी ढुङ्गामा
रगतपच्छे अक्षरहरू जन्माएर।

कटुसत्य
जुनी राम्रो होइन
प्रेमको
फुर्सद पायो कि
घाउहरू चाटिबस्छ यसले।

निवेदन
बाझूँ म जीवनसँग?
क्षितिजको इन्द्रेणी पक्रन।
हारूँ म क्षितिजसँग?
बादलको रुञ्चे मुहार निहार्न।
ठुस्कूँ म बादलसँग?
बाँझो खेतमा शब्दको झरी बर्साउन।

स्पष्टीकरण
के हेरेकी तिमीले मेरा आँखामा?
आँसुको खोला?
सुकिसकेका छन
मौनताको बगरमा।

व्यङ्ग्य-राग
मौनताको जुलुस रोक्न
हल्लाहरुको सङ्गीत बजिरहेछ
कानै फुटाउनेगरी।

पार्थक्य
शाहजहाँको ताजमहलमा
मुमताजको आँसु खस्छ पलपल
सुरिलो धुन बज्दैन।
मेरो एफएम् रेडियोभित्र बजिरहन्छ गीत
तिम्रो सुरिलो कण्ठमा
निद्राको प्रदेशमा मलाई धकेल्दै
शोकधुन त्यहाँ पटक्कै बज्दैन।

मायाजालमा बन्दी शब्दहरु-२
दर्शनभेट
आधारातमा ब्यूँझेको छु
अँध्यारोको साम्राज्य हेर्न
जुनकिरीको मुटु टाँस्छु
अँध्यारोलाई भगाउन।


नियति-१
भार खप्न हम्मे हम्मे पर्छ
जिरिखिम्टे सड़कलाई
ब्वाँसोका हूलहरू
घरिघरि
ओहोर-दोहोर गरिरहँदा।

नपुंसकता
मौलाउन सकेनन आगोहरू
हिमालको चुचुरामा
रापिलो भुप्रोभित्र सल्किरहन्छ
बीजहरू यौवनका।


खोजी
तिमीलाई लाग्दो हो
व्याकुल छु म
तिमीलाई भेट्न।
तिमी भ्रममा छयौ
म त साह्रै व्यस्त छु
शब्दहरु समेट्न।

उद्देश्य
उत्तानो परेको देख्यौ
तिमीले मलाई?
आकाश पो ताक्दैछु
तारामण्डल छुनलाई।

अनौठो भाग्य
भर्खर बामे सर्दैछन
बूढ़ाहरू
नातिनीको नौनी हात पक्रेर
ग्लोबल भिलेजतिर।

फसल-१
रोप्नु त मैले प्रेम नै रोपेको
हृदयको उर्वर खेतबारीमा
आश्चर्यचकित छु-
घृणाहरू पो फलेछन
चट्टानमा लटरम्म!
छोप्न त मैले चल्लाहरू नै छोपेको विश्वासको
साँझको रिमरिममा
अचम्भित छु-
भालेहरू पो बास्दैछन अविश्वासको
उज्यालै नछिर्ने झिसमिसे बिहानमा।


पापी माया
नकच्चरो डालिला छोराहरू
घ्याम्पाको शास्त्रीय सङ्गीतको तालमा
बिहानदेखि षष्ठअमृत घोक्दैछन।
ओदान स्याहार्दै बूढ़ी आमा
दाउरा चिर्दै बूदो बाबू
छोराहरू यमराजलाई सुम्पँदैछन।


चिकित्सा
पीड़ाका रोटी सेक्दैछन
उल्लासमय ताइमा
बिरामी कविहरू
आफू बिसेक हुनलाई।
मायाजालमा बन्दी शब्दहरु-३
विश्लेषण
छिन्द्रिङ्ग बज्यो चुरा
पल्लो कोठामा
गर्भाधान भयो- सोचेको
कत्रो ठूलो भूल मेरो?
ह्त्या पो रहेछ!

मुक्ति-कामना
गुरुबन्धनी
धनुबन्धनी
लघुबन्धनीको जेलखानाबाट
कहिले छुटने हुन कुन्नि?
बिचरा ती निरपराधी बन्धुत्व!

तुलना
जे पायो- खान्छन
जहाँ पायो- सुत्छन
के राम्रो बाली सप्रन्छ उनीहरुको!
छानी छानी खायो
सुकिलो डसना रोज्यो
सधैं बाली कचल्टिन्छ
के भा'को मेरो चाहिँ यस्तो?

शब्दको मैदान
निथ्रुक्क भिज्छन निर्वाङ्ग कविहरू
मुसलधारे पानीमा
छाता ओड़ेरै सर्वाङ्ग ढाकी
अकवि पनि निस्कन्छन सिकोमा।
खल्तीभरि शरमहरू घुसारेर
चिहाउँछन पाठकहरु चेपबाट पर्दाको।
कुट्छन समीक्षकहरू ओखती
ठिङ्ग उभेको ओखलीमा आँगनको
निर्वाङ्ग निथ्रुक्क भिज्ने सर्दी भगाउन कविको।

सम्भावित सजाय
बलवानहरूको हातैभरि,
मुखैभरि घीऊ नै घीऊ
निर्धाहरुको शिरैभरि पैतालाभरि
घाऊ नै घाऊ
लाखेस ईश्वर!
मेरो पालो आवोस न
सिर्कना लाउँदै संसार डुलाउँछु तिमीलाई!

हाँक
के फुटानी गर्छौ
शब्द तिमी?
अर्काकै हात पक्रेर
कागजको शिखर उक्लिरहेछौ।

भ्रमर
के साह्रो डुलन्ते भएको
शब्द तिमी?
कुनै ठाउँ बाँकी छैन
तिमीले नचहारेको।