Wednesday, August 4, 2010

मायाजालमा बन्दी शब्दहरु-२२
अनौठो भूल
कहिले पुगें हँ खोलाको किनारमा?
के हराएको थियो मेरो?
पानीबाट फुत्त निस्केर प्रश्न सोध्ने को हुन?
जिन्स पतलुनमा जलदेवता?
हातमा बञ्चरो लिएर सोध्दैछन-
"टलक्क टल्कने सुनको बञ्चरो तेरो?"
"चमक्क चम्कने चाँदीको बञ्चरो तेरो?"
"मेरो होइन प्रभो!"- भन्छु
"गह्रुँगो फलामको बञ्चरो तेरो?"
अनायस मुखबाट फुत्त जवाब निस्कन्छ-
"हो प्रभो, त्यो मेरो!"
गालामा एक चड्कन लगाउछन र
अल्पिन्छन जलदेवता
गाला मुसार्दै सोच्दैछु-
"टलक्क टल्कने सुनको बञ्चरो मेरो।"
"चमक्क चम्कने चाँदीको बञ्चरो मेरो।"
भन्नुपर्ने थिएछ
कस्तो हुस्सू म!

दिशा-स्वभाव
उत्तरबाट द्रुतवेगी अहङ्कारी चरो
दक्षिणबाट तीव्रवेगी अभिमानी चरो
आइपुग्छन पसल थाप्न चौरास्तामा सधैं
अनि घमण्डका पखेटाहरू फिजाउँदै
सातु-सामल बेच्छन लुते-लाङ्ग्रेलाई।
"तेरोभन्दा मेरो राम्रो।"
"तेरोभन्दा मेरो सुकिलो।"
भन्छन
र एकार्कालाई घुर्न थाल्छन
आँखा फुकाल्छन
ठुँङाठुँङ गर्छन
घम्साघम्सीको लठारोमा अल्झिँदै
रगतको मसीले भुइँभरि मानचित्र कोर्छन।
कस्तो विभेद?
पूर्वबाट हात बढ़ाउने चरो कति सुशील
पश्चिमबाट हात पसार्ने चरो कति धैर्यशील
युगौंदेखि टाड़ै छन
तर परस्परमा सधैं अभिवादन गर्छन
एकार्काको गुणगान गर्छन
उत्तर र दक्षिणको लुछाचुँड़ीलाई च्चः च्चः भन्छन।
हे प्रभो! किन नि चार दिशाको स्वभाव यस्तो सिर्जेको?

No comments:

Post a Comment