Wednesday, August 4, 2010
रेखाहरू ती क्षितिजका- मनहरूजस्तै: पृष्ठ-१
खोज्न निस्केको छु मनहरूलाई
मौनव्रत धारण गरेर बसेका छन क्यार!
अपारदर्शी नै छन क्षितिजका ती रेखाहरूझैं
कहाँ कहाँ अल्पिन पुगेका छन मनहरू
गुफाभित्रै पसेका होलान समाधिस्त बन्नलाई।
एकाबिहानै चारो टिप्न आउने एक जोड़ी परेवालाई
मैले झण्डै सोधेको-
"मनहरूको गुप्त ठेगाना कहाँ छ?" भनेर
मेरो अनुरोधलाई टार्न नसकेर
सेतो मजेत्रोले आफ्नो देह छोपेका सोझी परेवीले
ठेगाना बताइदिएकी भए
चोखो मायाको आहालमा डुबेका प्रेमी परेवाले
साँचो कुरो भनिदिएको भए
सहन हुन्थ्यो होला के त?
तत्क्षणै यात्रा प्रारम्भ गर्ने थिएँ हुँला
अनकण्टारको कठिन पथहरूमा हिँड़्दै जाँदा
कतै ठेस लागेर
हुरुक्कै त हुने थिइनँ होला नि?
सुटुक्कै झ्यालमा आएर
मलाई झुक्याउनखोज्ने/ जिस्काउनखोज्ने
अरुणाचल प्रदेशको पहाड़लाई देखाएर
मलाई मेरो पहाड़को सम्झना गराइदिएका भए
मनहरू समाधिस्त भएका गुफा त्यही हो भन्दै
त्यहाँसम्म पुग्ने अपारदर्शी बाटो औंल्याइदिएका भए
तत्कालै बाटो नाप्न पुग्ने थिएँ हुँला
उकालोका ती एकलास बाटोहरुमा चढ़्दै जाँदा
फतक्कै गलेर देवरालीमा सुस्ताउने त थिइनँ होला नि?
साह्रै जाती भयो-
चारो टिप्न आएका ती परेवाका जोड़ीलाई
मैले केही सोध्नै सकिनँ
मैले कुरा थुत्नै सकिनँ।
बरु निर्वाक लाटो भएर
अँजुलिभरिका कणिका धेरैपल्ट छरिदिएँ
व्यथाका अक्षरहरू कोरेर तिनीहरुको पोल्टोमा हालिदिएँ
टिपेका छन दानाहरू हत्केलाबाटै
विश्वासका व्यथाहरूसितै पोको पारेर।
व्यथाहरुलाई मन्दिरका गजुरभरि सिउरेर
घरिघरि प्रकट हुनपुग्छन
घरिघरि अन्तर्धान हुनपुग्छन
घत हेर्न कम्ती सिपालु छन र!
विश्वास बटुल्न कम्ती खप्पिस छन र!
ईश्वरले नै सिकाएर पठाएका हूँ क्यार!
Tuesday, August 3, 2010
रेखाहरू ती क्षितिजका- मनहरूजस्तै : पृष्ट-२
देखिँदैनन रेखाहरू पनि ती क्षितिजका
मनहरूजस्तै त हुन ती पनि
कहिले उज्यालोको बर्को ओड़ेर
कहिले अँध्यारोको सर्को तानेर
अपारदर्शी आकाशको वक्षभरि
टाँगिन पुग्छन ती रेखाहरू
मितेरी लगाउँ भन्दैछु ती रेखाहरूसित
हातमा हात पक्रेर मनको नदी तरौं भन्दैछु
पछ्यौरी समातेर क्षितिज़ नै काटौं भन्दैछु।
रेखाहरुलाई क्षितिजको पछ्यौरी पक्रेर हाँसेको देख्नेले
कहिल्यै खुशीको सन्देश सुनाएनन
रेखाहरुलाई क्षितिजको सिउँदो पुछ्दै रोएको देख्नेले
कहिल्यै दुःखको सम्चार पठाएनन।
ती रेखाहरू भाग्यशाली होइनन
ती रेखाहरू अभागी पनि होइनन
टुहुरा पनि त होइनन
मनहरूजस्तै हुन ती रेखाहरू पनि
कुहिरोझैं कहिले रुमलिँदै- धरतीमा
बादलका भुवाहरूझैं कहिले रगत छर्किँदै आकाशमा
मनपरी डुलिहिँड़्ने गर्छन
जताततै निर्वाधगतिमा उड़िहिँड़्ने गर्छन।
कहिलेकाहीँ थाकेर अलन्तरमा पर्दै विश्राम लिन खोज्छन
कहिलेकाहीँ विक्षिप्त भएर दोबाटोमै निश्वास लिन खोज्छन।
क्षितिजका रेखाहरू र मनहरूलाई
टाड़ाबाट नियाल्दा साँच्चै
आफन्त जस्ता लाग्छन।
कहिले तर,
नजीकबाट चिहाउँदा
साँच्चै बिराना जस्ता लाग्छन।।
बज्यूको दन्तेकथा
लामो अवधिपछि यसपालीको याम
पर्खेरै बसेको छु दन्तेकथा
अगेनु वरिपरि झुम्म बसेर
एकहूल केटाकेटीहरूको निद्रा पनि
अभिलाषा साँचेर जागै छन
'बज्यूको मुखारबिन्दबाट सुन्छौं रमाइलो दन्तेकथा!'
गुन्द्रीमा बसिरहेकी बज्यू
एकाएक कहाँ हराएकी थिई यतिञ्जेलसम्म?
उत्तरहरू होइनन तर यो दन्तेकथाको
पिँधिराखेर जाँतोमा एक पाथी मकै
कुटिराखेर ढिकीमा एक धार्नी धान
क्षितिज़ नै काटिसकेकी रहिछे बिचरी बज्यूले!
भन्छिन बज्यू हाँस्दै मरीमरी-
"मर्नै भयो सर्केर बाजेलाई
मेलोमा सातु खाँदा
ठेला उठेको हातले आफ्नै गाला मुसारेर
पुर्लुक्कै कान्लामा पल्टिँदा
झुल्किन आएको अजिङ्गरजस्तो सपना
एकछिनको झमक्क निद्राभित्रै
भागेछ पल्लै डाँड़ा काटेर बाजेको सपनाले।"
मेरी बज्यू-
मेरो सपनामा पो आउँछिन सधैं
लामो समयपछि माइतबाट फर्केकी दुलहीझैं
हातमा एक ठेकी दही
र
एक पोको चिउरा बोकेर
थचक्क पिँढ़ीमा बस्दै दन्तेकथा पस्कन्छु भन्छे
अगेनु वरिपरि बसेका केटाकेटीलाई।
साइनो माया लाग्छ नि हजुर!
अक्कासिएको मेरो मनलाई
सन्तुलित राख्ने उपक्रमसितै
सेखी झार्न आउने वैरीको पाइलासित पाइला दाँज्न
अघि सारेको पो थिएँ
मेरा पाइलाहरूलाई
साइनो मेट्न कहाँ खोजेको हो र?
के भन्नुहुन्छ हजुर!
पर्वत श्रृङ्खलासितको साइनो मेरो
बिहानको एक चुस्की चियासितै
मेरो झ्यालमा सुटुक्कै आएर
नानावलीका सुसेलीहरू सुसेल्ने
कञ्चनजङ्घासितको वार्तालाप सुनेर
मुसुक्कै मुस्काउने
सपनाको ऐनामा कपाल बाट्ने मेरी उसको
मृदु मुस्कानहरू पनि कोसेली भएर
कङ्कालमात्र आइपुग्छ टेलिफोनको लहरामा।
कस्तुरी मृगको खोजीमा
निस्केको कहाँ हो र शिकारी बनेर?
हेपेर कहाँ निस्केको हो र जीवनलाई
अँजुलीभरी उल्लासको सयपत्री फुलाउन?
चोइटाहरू छन बरू मनको आँगनमा जिजीविषाका।
माया लाग्छ नि मलाई हजुर!
हराइपठाउन लागेको साइनोको
दशैंको दिनमा आशिकको टीको निधारमा टाँसेर
लिङ्गेपिङमा मच्चिएको सम्झना आउँछ-
"आम्मै, तपाईं त कस्तो हौ!
मच्चाएर जिन्दगीलाई अपरिमेय आकाशमा
अन्योलमा पारेर जानुहुने रहेछ नि परदेशमा
छोड़ेर अमेट सम्झनाको धागो
बाटिरहूँला म ता/ बुनिरहूँला म ता
पिरतीको बलियो गाँठो
सम्झनाको कसिलो अँगालोमा।"
सपनाभरि कति माया लाग्ला नि साइनोको?
अनन्त क्षितिजको पर्दा च्यातेर
हेरिरहूँला मुहार तिम्रो भन्दै हल्लाएका बिदाइका हातहरु
सम्हालेर राखेको छु
खोलेर हेर्न नपाउँदा आहत भएका मुहूर्त्तहरू।
मुहूर्त्त पनि- कस्तो निष्ठुरी रहेछ नि!
तपाईं सोच्नुहुन्छ- लाग्दैन माया साइनोको भनेर?
हजुर! मलाई त माया लाग्छ/ लागिरहन्छ साइनोको।
कविता क्रमश: कविता-१
पर्खाल रहेछ अजङ्गको
कविताको बाटोमा
पुग्न सकिएन सजिलै।
०००
सपक्कै बाटेकी छे शकुन्तलाले
कविताको चुल्ठो
बलात्कारको सिउँदोमा।
०००
झ्याल उदाङ्गै राखेछन
रातभरि कविले
जूनको शीतल पहिरनसितै-
कविताको प्रतीक्षामा।
०००
भोको पेटमा
गुन्दुकको झोलको स्वाद
कविताले मनग्गे पस्कियो।
०००
हत्याराको पापी हातमा लागेको
मैला रगत
पुछिएन कविताको तौलियाले।
०००
बिमारी छोरीले मागेकी छे
हर्लिक्सको बोतल
झोलामा सुटुक्कै पसेछ-
कविताको धुस्रे अनुहार।
०००
प्रिये नरिसाऊ!
तिमीसम्म पुग्ने बाटो
झ्वाम्मै छोपेको छ-
कविताको लहराले।
०००
ग्वाम्लाङ्गै ओड़ेको छु
कविताको धुसा
माघको ठिहीमा-
जिन्दगीको।
०००
जिप्टिएको छ सौन्दर्य तिम्रो
कविताका नङहरूमा
शब्दको `नेल-पालिस' भएर।
०००
आवेदन आयो
मेरो टेबलमा- कविताको
`होलीडे-ड्यूटी' नगर्ने रे!
०००
डढ़ेलो लागेछ दिउँसै
कविताको जङ्गलमा
अनावृष्टिले।
०००
Wednesday, July 21, 2010
कविता क्रमश: कविता-२
ओथारो बसेको छ
कविताको माऊ
कल्पनाको अण्डा छोपेर।
०००
सुटुक्कै पसेछ कविता
रक्सीको घुट्कोसितै
कविको पेटभित्र-
कहिल्यै ननिस्कने गरी।
०००
बिहानै पस्केकी छे मेरी उसले
एक छाक कविता
सुटुक्कै मेरो थालमा।
०००
पगली बज्यूको
नाङ्गो मैला फिलामा
ट्याप्प टाँसिएछ
कविताको परिधान।
०००
स्कूल भागेको छ
धेरैपल्ट कविता
मेरो सिर्कनाको डरले।
०००
सेताम्मे भएर फुलेछ
कविताको फूल
मनको चुचुरा-चुचुरामा।
०००
चुर्लुम्मै भिजेछ कविता
ओत नपाएर
मुसलधारे पानीमा।
०००
फत्रक्कै गलेको छ
खुट्टाको गेँड़ी-गेँड़ीसम्म
डाँड़ामा उक्लिसकेको-
कवितालाई पछ्याउँदा।
०००
साहित्य!*
तिमीजस्तै ठुस्कन्छे
कविता पनि कहिलेकाहीँ
मेरो मायाको अभावमा।
०००
*मेरी धर्मपत्नी
ग्राहक-२
तपाईं कविता किन्न आउनुभएको?
कविताको मुटु छाम्न सक्नुहुन्छ तपाईं?
उसोभए, हेर्नुहोस
मेरो छातीमै टाँसिदिएको छु नि कवितालाई!
तपाईंको हात काँड़ेदार त छैन?
तपाईंको हात यदि काँड़ेदार छ भने
तपाईं नजिकमा नआउनुहोस
मेरो कविता तपाईंलाई देखेर चम्पट लाउन पनि सक्छे।
साह्रै कोमल पो छे त ऊ
आकाशमा घरिघरि उड़्न चाहन्छे।
कविता किन्नको निम्ति के ल्याउनुभाएको छ तपाईले?
यदि आह्रिस र इर्ष्याका मुद्राहरू
तपाईंको खल्तीमा नाचिरहेका छन भने
तपाईंको हातमा म कसैगरी कविता थमाउन सक्दिनँ
मलाई साह्रै भन्दा साह्रै डर लाग्छ
मेरो कवितालाई तपाईंले
झापट लाउनुहुनेछ,
भकुर्नुहुनेछ
र
चबाउँदै चबाउँदै डस्टबीनमा फ्याँक्नुहुनेछ भनेर।
तपाईंले सोच्नुभएझैं मेरो कविता
मासुको टुक्रा पनि होइन
अनि कसाईको पसलमा मृत्युको क्षण गनिरहेको
बाख्राको पाठा पनि होइन मेरो कविता।
यदि तपाईंले मेरो कवितालाई
कसाईले झैं रेट्दै-रेट्दै ह्त्या गरिदिए
भोलीको खबरकागजको आवरणपृष्ठमा उसको तस्वीर छापिनेछ
त्यतिखेर मेरो अन्तरात्मा साह्रै रुनेछ
मलाई बाँच्नै गाह्रो पर्नेछ भनेर
तपाईंलाई के थाहा?
तपाईंलाई भन्दैछु-
मेरा कविताका ग्राहक एकैजना छन अहिले
जसले आफ्नो मुटु बन्धक राखेर
मेरो कवितालाई छातीमा टँसाएर लाने गर्छन।
भोली उनी कविता फर्काउन पक्कै आउनेछन
म उनलाई उनको मुटु फर्काइदिनेछु
तर मेरो कविता भने उनैलाई सुम्पिदिनेछु
मलाई दृढ़ विश्वास छ की उनी साह्रै दयालु छन
कवितालाई प्रेम गर्ने उनको आत्मा छ
प्रेमको परिभाषा खोजिहिँड़्ने प्रेमी उनी पक्कै होइनन।
तपाईंले पनि जानिराखेको बेस होला
कि शब्दकोशको एउटा-एउटा पृष्ठ पल्टाएर हेर्नुहोस
प्रेमको नाम अपराध भनेर कहीँ लेखिएको छैन।
Tuesday, May 18, 2010
राग रियाज!
शून्यताको तुना फुस्किसकेको छ
र
हल्लाहरुको इँजार कसिँदैछ
टिनिक्क परेको आँगनमा।
काँसे थालको फराकिलो खेतमा
लछेप्रै उम्रेका अनगन्ती अछेता फुकेर
जोखाना हेरिबस्ने जनापाहरुको
चाउरिएको निधार सिनिक्क बढ़ार्न
समयको कुचो बाट्नलाई
चोया काड़्ने सिपालु हातहरूमा
झमझम पोल्ने भाङ्ग्रे सिस्नु
कुन राक्षसले थपक्कै राखिदिन्छ कुन्नि?
ओभानोको नीलो आकाश ताप्नलाई
आमाको गर्भमा सिँहासन ओगट्ने
राजकुमारको झरिलो मुहारले
उज्यालो बिहानको चहकिलो ऐना हेरी
ङिचिक्कै हाँस्दै सुकिलो माटोमा
आफ्नो कलिलो खुट्टा कहिले टेक्ने हुन कुन्नि?
छोराको सातो बोलाउँदा बोलाउँदा हत्तु भएकी
आमाको पटुकीमा पीङ खेलिरहने बाघमुखे थैलीभरि
आँटको पैसा बजिरहन्छ
छमछम छमछम।
सातो फर्केको पाखुरे छोराले
आमाको आँखा छलेर चोरिबस्छ
एक पैसा, दुई पैसा।
समयको अग्लो पहाड़ उक्लेर बिगुल बजाउँदै
आकाशमा मुक्तिको झण्डा गाड़्नलाई
आशीर्वादको हात हल्लाइरहन्छे
निदाएकी भान पारेकी आमाले।
Wednesday, August 5, 2009
तीखे साँडहरू
असारको हिले गराले
तिम्रो पाखुरे वैंसलाई
झिमिक्कै आँखा झिम्क्याएर
सुटुक्कै वीर्यको माग गर्छे
अनि
स्खलित तिम्रो शरीर सुम्सुम्याएर
सुकुमारी सपना गर्भधारण गर्छे
औंला भाँचेर दिन गन्ती गर्दै
दश महिना नपुग्दै तिम्रो काखमा
थपक्कै जून राखिदिन्छे
वैरीको बिरालो आँखा तिमीले देखेको छौ?
यामको आङ छाम्न नजान्ने
सिंगाबिनाका साँड़झैं डुक्रिरहन्छन
चैतको उखरमाउलो घामलाई पनि
असारको पन्ध्र मानेर
खेत जोतिरहने साँडहरू
तरतर पसीना चुहाउँछन
र खरीबिनाको मादल बजाउँदै
गुहार माग्दै हिड़्छन
कम्मरमा रित्तो गाग्री बोकेर
पँधेरो धाउन आँटेकी नकच्चरीलाई
रजाइँ छ साँड़हरुको
चैतको बाँझो खेतमाथि
के तिमी जुधाउन सक्छौ
सिंग नभएका साँडहरूसित
आफ्नो सिंग?
काखमा खेलिरहेकी जूनलाई
जोगाऊ है तिमी
सिंग नभएका साँडहरूसित
बाली जोगाउन
चर्को पो छ है!
Wednesday, April 29, 2009
Wednesday, April 22, 2009
Thursday, February 5, 2009

Poet and river
Twin offspring of nature
Flows spontaneously
In words and water
Seldom care interference of others
Tease them not
They may drag you
To the ocean
And coronate you as a martyr
With crown of non-being.