Friday, August 6, 2010

मायाजालमा बन्दी शब्दहरु-१४

सिक्का

के घट्यो, दुर्घटना?

छाकको भात जुठै छोड़ी खाली खुट्टै कुदेर गयो

रगतमा लथपथ हुँदै घाइतेलाई अस्पताल पुरयायो

घरको जायजेथा सबै बेचबिखन गरी बिरामीलाई निको तुल्यायो

साँच्चै,

पृथ्वीमा मैले साक्षात ईश्वर देखें।

के घट्यो,

घट्ना?

मासु-भात कपाकप खायो

खल्ती नै खल्ती भएको कमीज ओड़्यो

यसो वरपर हेरयो

घाइतेको खल्ती छामछुम पारयो

"पानी, पानी" भन्दै गरेकालाई घाँटी निमोठ्यो

साँच्चै, पृथ्वीमा नै मैले साक्षात राक्षस भेटें।

दया

हेर,

कस्तो झरिलो उसको मुहार!

घाम झुल्कनअघि नै

झ्यालबाट सुटुक्कै बोलाएर

शिवले अमृत पो खुवाउने गर्छन कि!

निश्चयता

लौ बस है भनेर

के बिदा माग्नु तिमीलाई?

सबैको आँखा छलेर

स्वर्गको त्यो एकान्त कोठामा

आउँछै त आउँछौ भेट्न मलाई।

उस्ताद

बिहानै सुनें आइरहेको थियो

कहीँबाट कर्णमधुर नबुझिने राग

कसको आवाज होला नि?

आँखा मल्दै झ्यालबाट चिहाएँ

बालक सूर्यको ऐनामा झलक्क देखें

रियाजमा व्यस्त रहने गायक त

ईश्वर,

तिमी पो रहेछौ!

मथ-मानव

आएका थियौ उज्यालोघारीमा

आफ्नो नृत्य प्रदर्शन गर्न

गयौ नि कुण्ठाको भारी बिसाएर

वैकुण्ठको आँगन सिनिक्क बढ़ार्न।

उद्धारक

कोही यहाँ लाज बचाउँछन

कोही यहाँ लाज पचाउँछन

कोही यहाँ कसैको लाज बचाइदिन्छन

कोही यहाँ कसैको लाज खोसिदिन्छन

तिमीलाई त पक्कै थाहा हुनुपर्ने

एकजना त कोही छ यो संसारमा

एक न एकदिन सबैको लाज

आफ्नो पोल्टामा सुटुक्क हालिदिन्छन।

No comments:

Post a Comment