Friday, August 6, 2010

मायाजालमा बन्दी शब्दहरु-१५
विवशता
कसैले मुख छोड़्छन
कसैले हात छोड़्छन
बल नपुग्नेहरू त धेरै छन संसारमा
त्यसैले उनीहरु जीउ नै छोड़्छन।
जगेरा
वर खोजें,
पर खोजें
टाउको उठाई उठाई सिलिङ चहारें
शिर निहुराई निहुराई खाटमुनि निहारें
कहाँ राखेँ हँ आयातित हतियार त्यो?
देख्यौ?
पोहोर नै थन्क्याएको काठ चिल्लाउने
मेरो आफ्नो हतियार पो हात लाग्यो
उध्याउँछु अब,
चिल्लो पारिरहन्छु म बस्ने र अरूलाई बसाउने कुर्सीहरू।

असमञ्जसता
मेरा कर्मलाई वाहियात भनिदिन्छन
मैले त स्वीकार गरिदिएँ
उनीहरुको भनाइलाई
मेरा कर्मलाई
वाहियात भन्नेहरूको कर्मलाई
मचाहिँ के भनेर स्वीकार गरूँ?

खेलवाड़
पूर्वबाट उदाएको घाम
सधें पश्चिममा नै डुबेको किन होला?
जन्म लिएपछि सबैले नै
यो धरतीलाई छोड़्नैपरेको किन होला?
ईश्वरले मान्छेलाई मिलजुल गर्न पठाएको धरतीमा
बाझ्नु र जुझ्नुमा मात्रै समय खेरो फालेको किन होला?
एकार्कालाई पानी खुवाउन पठाएको उसैले
तँ॰॰तँ॰॰म॰॰म॰॰ भन्दै रगतको होली खेलेको किन होला?
संसारलाई सपार्न पठाएको मान्छेलाई
उसले संसार बिगार्न मात्र खोजेको किन होला?

आधिक्य
ईश्वर,
किन अँटाएको होला नि
त्यतिबिघ्न पानी सागरमा?
खेरो गइरहेछ त्यसै।
किन पठाएको होला नि
यतिबिघ्न मान्छे धरतीमा?
वैरी बनिरहेछ व्यर्थे।

भूल निर्णय
फ्रायड,
तिमीले कस-कसलाई भेट्यौ
इडिपसको कमीज ओड़ेर
हाट-बजार घुमिहिँड़ेको?
तिमीले कहाँ कहाँ देख्यौ
आफ्नै पुत्रद्वारा जोकास्ताको
सतीत्व हरण भएको?
लौ हिसाब देऊ त मलाई एक-एकको
टेबल ठोकेर सोध्नेछु म ईश्वरलाई
तिमीले किन नि धरतीमा
इडिपस नै इडिपस पठाएको?

No comments:

Post a Comment