Friday, August 6, 2010

मायाजालमा बन्दी शब्दहरु-१३
स्थिति
सबै भन्छन
ऐठन पार्छन बोक्सीले।
मेरो कुरा अलि बेग्लै छ
तिमीलाई मात्र बोलाउँदैछु

आफ्नो भेद खोल्दैछु
मेरो खल्ती छामिहेर त
मलाई त सधैं ऐठन पार्छ रुपियाँले।

मापदण्ड
तिमी व्यथा पोखाउन आएकी?
नआऊ कसरी भनूँ म बस,
शान्त भएर बस
केहीबेरमा आफै थाहा पाउनेछ्यौ
शिरदेखि पैतालासम्म नियालेर हेर मलाई
छेवैमा तराजु छ
तराजुमा तिम्रो व्यथा माथि
मेरो व्यथा तल भएको पाउनेछ्यौ।

पथिक
मैले त भनेकै हो नि
मेरो छेउमा नआऊ आयौ
अनि
मुटुभरि छायौ
कस्तो निष्ठुरी नि तिमी त!
जान्छु पनि नभनी
मलाई उजाड़ बनाएर कहाँ गयौ गयौ?

न्याय
बाली सप्रिँदै थियो,
केही पानी चाहिएकै थियो
हे ईश्वर!
पानी पारिदेऊ न- भन्यो धनेले।
घाम लागिरहेकै थियो,
चुहुने घरको छानोले सास फेरिरहेकै थियो
हे ईश्वर!
पानी नपारिदेउ है- भन्यो मनेले।
दुवैजनाको प्रार्थनामा ईश्वर यति ख़ुशी भयो
मन राख्नैपरयो दुवैको भन्दै एक साँझ
ईश्वरले असिना पारेर
धनेको बाली र मनेको छानो ढुटो पारिदियो।

No comments:

Post a Comment