Friday, August 6, 2010

मायाजालमा बन्दी शब्दहरु-१०
ग्राहक-१
के चिटिक्क परेको गोलो फ्रेम रहेछ आकाशमा!
धरतीमा बेच्न पठाउनु नि त्यसलाई
किनिहाल्थें म
उसको र मेरो तस्वीर टाँग्नलाई।
अभिलाषा
कसले जित्छ होला है
अन्तमा यो संसारलाई?
ईश्वर,
तिमीलाई त थाहा छ नि!
सुटुक्कै कानमा भनिदेऊ न मलाई
अहिलेदेखि नै अँगालो हाल्थें उसैलाई।

पश्चाताप
आजित भइसकें भन्छन- ईश्वर
थकित भइसकें भन्छन- ईश्वर
किन सृष्टि गरेछु नि
मान्छेरुपी खेलौना?
सधैं-सधैं सुन्नुपर्छ मैले यसरी
उसैको मात्र बिलौना।

आश्चर्य
वल्लो घरबाट हिजो लिएको पैंचो नून
आज तिरें,
पल्लो घरबाट आज लिएको पैंचो तेल
नमरे भोली तिर्नेछु,
ईश्वरबाट उहिल्यै पैंचो लिएको
सास तिर्न मलाई यत्रो समय लागेको?

तिर्खा
राम आए,
ढोलक बजाउँदै रहिम आए,
यीशु आए,
बाँसुरी बजाउँदै कृष्ण आए,
बुद्ध आए,
थप्पड़ी बजाउँदै नानक आए
सँगसँगै झ्याली-झ्याम्टा बजाउँदै
बाझ्दै-जुझ्दै
कति-कति मान्छे आए,
पूर्वबाट आएका सबैजना पश्चिमतिर गए।
सकेनन तर कसैले गर्न परास्त तिमीलाई
हे ईश्वर!
तिम्रो मुटु त साँच्चै फलामको रहेछ
एकचोटि स्पर्श गर्नदेऊ न मलाई।

असमय
लौ आइहाली ऊ त
झुम्के बुलाकीमा चिरिच्याट्ट परेर
हातभरि हिलो छ मेरो
निस्कूँ कसरी म इस्टकोटमा झरिझुट्ट बनेर?

परामर्श
झेल्नसक्छौ तिमी?
लौ झेल मेरो प्रेमको भारी।
छेल्नसक्छौ तिमी
दुनियाँले सिर्जेको काँड़ाघारी?

No comments:

Post a Comment