Friday, August 6, 2010

मायाजालमा बन्दी शब्दहरु-९
ईक्षण
थाकैथाक छन सपनाहरु
तिमीलाई नै अधिकार दिन्छु
खोतलिहेर त सिह्रानीमा,
भूणहरू कति कुहिएछन सपनाका?

निर्दयी
आइतबार नै हो आज
कविता?
कविले छुट्टी दिएनन
तिमीलाई?

तीर्थ
पाप पखाल्न भक्तहरू
काशी जान्छन
मथुरा जान्छन
काशीका, मथुराका
पापीहरू पाप पखाल्न कहाँ जान्छन?

अनुकरण
झोलले नाक लागेकाहरू
सूप खान्छु भन्छन
हतारसित खाने हुँदा
लुगाभरि पोखाउँछन।

फीता
माउण्ट एभरेस्टको उँचाइ नाप्ने
तिमीले
उनन्तीस हज़ार दुइ फीट सजिलै भनिदियौ
त्यत्रो अग्लो हिमालको उँचाइ नाप्ने
तिम्रो उँचाइ कति हँ?

छुट
गाह्रो छ नि जीवन थेग्न
सजिलो कहाँ छ भनेको छु र?
घरिघरि जिस्क्याउन आउने समयलाई
सँघारदेखि भगाउन कहाँ सकेको छु र?

रमिता
लाटो एक बल्ड्याङ लड़ेको देख्यौं
बाठो तीन बल्ड्याङ लड़ेको पनि देख्यौं
संसार सृष्टि गर्ने ईश्वरलाई
मान्छेले झ्याइँकुटी पारेको झन
आफ्नै आँखाले देख्यौं।

No comments:

Post a Comment