Friday, August 6, 2010

मायाजालमा बन्दी शब्दहरु-१७
भ्रमको शिक्षा
घुसखोर छोराको चर्तिकलाको
बाक्लो लेदोमा
अँटाउन सकेन
बुढ़ो बाबुले पस्केको
आदर्शमूलक शिक्षादान
विद्यार्थीहरूका मस्तिष्कभित्र।

कवि धर्म
कवि र नदी
प्रकृतिका जम्ले सन्तान
बगिरहन्छन- आफ्नै गतिमा,
आफ्नै चालमा,
कसैको पर्वाह नगरी
शब्द र पानीमा।
नजिस्क्याउनु दुवैलाई
घिसार्दै लगी समुद्रमा डुबाउलान
अनि
निश्चिन्हताको मुकुट पहिराएर
शहीद बनाउलान।

व्यापक परिवर्तन
मिस्टर ब्यास्नेट,
कहाँ छौ अचेल?
अब नफर्कनु है यो धरतीमा
तिम्रो जादू टुनाले अब नभ्याउने भयो
आउँछु भन्छौ?
अँ उत्तानो पर्नु छ भने आऊ
तिमीलाई जिताउने जण्डा-जण्डा नातिहरू
लछेप्रै छन यहाँ।

अभिनेत्री
बिचरी,
धनमती त बम्बईको सपना
छातीभरि सिउरेर निस्केकी उहिल्यै
अत्तोपत्तो छैन हामीलाई
हिजै मात्र उसकी नातिनी भने
बज्युको जन्मथलोमा आइपुगी
र बम्बईको बयान गर्नथाली
एटेक, बीटेक, सीटेक
कुन्नि के पढ़िरहेकी ऊ
रयाम्पसम्म उक्लिने मोडेलसम्म भएकी छे'रे
हामीलाई लाग्यो-
आफ्नी बज्यू धनमतीको आधा सपना त पूरा गरिछे
अन्तर्वार्तामा सधैं भन्छिन रे उसले-
"बज्यूको सपना पूरा गरेरै छोड़्नेछु।"

मोहनी
मर्मको दहमा डुबेर
सुनौलो माछा पक्री
व्यथाको एक्युरियम निर्माण गर्दै
प्रदर्शनीमा सयौं आँखाहरूलाई झिज्याउने
उसको दिनचर्या देखेर
लट्ठ परेकी छे वैशाखकी उत्ताउली बेहुली।

No comments:

Post a Comment