Friday, August 6, 2010

मायाजालमा बन्दी शब्दहरु-१६

चाहना

ज़माना परिवर्तन चाहियो भन्छन सबै

देखेनौ परिवर्तन?

पहिलेको जमानामा बाबुको खुट्टा छोराले ढोग्नेगर्थ्यो

अहिलेको जमानामा छोराको खुट्टा बाबुले ढोगिरहेछन

संसार नै पल्टाउने

योभन्दा ठूलो जमानाको परिवर्तन

तिमीलाई अरू के चाहियो?


कलाकार

ढुङ्गा फोर्न गएको मान्छे

धेरैबेर भयो ढुङ्गेनीघारीबाट निस्केकै छैन

बल्लबल्ल सङ्केत पाइयो

ढुङ्गा त सलक्की बाहिर निस्केछ

ढुङ्गा फोर्ने मान्छे भने चट्टानभित्र सिद्राझैं चेप्टिएछ।


फसल-२

तक्मा थाप्ने होड़मा

जोड़ लगाउँछन भन्छन सबै

कहाँ होला त्यस्तो ठाउँ?

अचम्मको मेला लाग्छ जहाँ।

सबैलाई थाहा भएकै कुरो हो

एउटा तक्माले एकैजनाको आल्मारी त सजिन्छ नि

देखेको छैनौ?

वाल्मीकि र वेदव्यास,

शेक्सपियर, होमर र दाँते

र हाम्रै भानुभक्तले खिप्ती गरी गरी कमाएको तक्माले

तिम्रो र हाम्रो घरको आल्मारी

कसरी ड्याम्मै सजिएका छन?


साँचो भ्रम

रातभरि ढुकेर

बालक सूर्यलाई अपहरण गरेर

कतिले लगे लगे पोल्टोमा घुसारेर।

कसरी होला नि?

सबैलाई झुक्याएर मुसुक्क हाँस्दै

हात मिलाउन आइपुग्छ फेरि

बिहानै टाइगर हिलमा

सबैलाई छक्क पारेर!


संक्रमण

"के भाको हौ ऊ त?"

भन्दै साखिलो बन्ने दिदी र उनकी साथीलाई

कुन पानीकलमा भेटेका थिए नि

मत्स्येन्द्र प्रधान दाइले?

आज बिहान मैले पनि

हाम्रै गाउँको पानीकलमा

त्यही संवाद दुरुस्तै दोहोरयाउनेहरू भेटें

शायद उनीहरु नै होलान

अहिले त डाँड़ाको घाम भएछन

कति राम्रो संस्कार नि उनीहरुको!

नातिनीलाई पनि त्यही पाठ पढ़ाउँदै रहेछन।

No comments:

Post a Comment