Thursday, August 5, 2010

मायाजालमा बन्दी शब्दहरु-१८

जिज्ञासा

दास स्टुडियोको एककुनामा

के राम्रो फोटो सजिएको रहेछ फ्रेममा

ढिस्कनामाथि दुइटा ढाकर

बीचमा को हो नि उभिएको?

मान्छेको भीड़लाई ठेल्दै आइरहेका

कथाकार गुप्त प्रधानलाई

टाई-सुटमा सुसज्जित ठिटोले प्रश्न गर्दै रहेछ-

"हाम्रो बाजेचाहिँ कुन ढाकरमा छ हँ?"

"दुइटा ढाकरको बीचमा उभिनेचाहिँ बलबीर बाजे नै हुन?"

बल्ल थाहा भयो-

प्रश्न गर्ने ठिटो त रामसिँह्को नाति पो रहेछ।

पुषको घाम

घाम लागेको छ

तर घाम हो के?

बज्यूले आङ सेक्न पाएकी छैन

एक कुनामा डल्लो परेर पर्खिबसेकी छे

नातिनीको मोबाइल-वार्ताले सात डाँड़ा काटेर

संसारको रङ्गीचङ्गी देखिसक्यो।

बज्यू भने जुम्राघारीमा

रिहर्सल गरिरहेकी छे वैकुण्ठ यात्राको।

आँगनले घामको तस्वीर खिंचेर राख्न सक्दैन

बज्यूले आफ्नो अनुहार हेर्दै फुर्सदमा ताप्नलाई

वैकुण्ठको रमिते डाँड़ामा!

उत्खनन

कस्तो राम्रो भाग्य मेरो,

भेटें नि मैले लिखापानीमा

जयमाया बज्यूकी नातिनीलाई।

लेख्दैछिन'रे बज्यूको `जीवनी'

आई बी सरको अन्तर्वार्ता लिन

दार्जीलिंङ पुग्छु भन्थी

पुगी होली!

साह्रै रहस्यमयी रहिछिन

प्रश्नहरु मलाई देखाउनै मानिनन।

चिरबिदा

सुन फलाउने सपना बोकेर आउने

बाजेको पसीना र बज्यूको रगतले

बाकसमा पसेर सुँकसुकाउँदै

बिदा माग्ने गरेको

अहिलेको कथा होइन

बाकस उघारेर फर्किआएका

कसैले देखेनन अहिलेसम्म!

संरक्षण

भाइटीका थाप्न बोलाएकी?

फूल रोप्न त जानिनौ सयपत्रीको

माला ल्याउँछौ टल्किने कागजको।

सेलरोटीधरि पोल्न नजान्ने तिमी

रामशरण भैयाको दोकानबाट ल्याउँछौ।

अन्त, दौरा-सुरुवाल पहिरेर

के जानु भाइटीका थाप्न?

No comments:

Post a Comment