Friday, August 6, 2010

मायाजालमा बन्दी शब्दहरु-१२
तूफान
हातीसुँड़े पानीले
धरतीको एकपाखा त बिगारयो
थाहा छ?
उसले दिएकी आँसुले
मेरो संसार नै कसरी उजाड़्यो?

ढोंग
मुटुभरि ढुङ्गाको भारी बोकेर
कविताको स्कूल खोलूँ भन्छन उनी।
उनले खोलेको स्कूलमा
कविता आउन मान्ला र?

सन्तान
अशान्तिको अभेद्य पर्खाल देखी
साह्रै रिसाएर तिमीले भन्यौ'रे-
"गोरे आउन कि काले आउन
पुड़्के आउन कि अग्ले आउन
चिम्से आउन कि आँख्ले आउन
मलाई के?"
त्यसो नभन कञ्चनजङ्घा,
मेरो शिरमा हात राखेर कसम खाऊ त
तिमीलाई सप्पैभन्दा बेसी
कसको माया लाग्छ?

निश्चितता
उचाल न मलाई उचाल
मन परुञ्जेल आकाशमाथिमाथि उचाल
मलाई त राम्ररी थाहा छ,
एकदिन त तिमीलाई
नाक लाग्छै लाग्छ
रूप त तिम्रो त्यतिखेर पो देखिन्छ
रणचण्डीको भेषमा आएर मलाई
पछार्नुसम्म पछार।

अन्तर-अभिलाषा
हेर,
कस्तो सकसमा पारेको मलाई?
आफूलाई भने यहाँ असारको पन्ध्र छ
अन्तर्वार्ता लिने रे?
जाउन न उनीहरू
वाल्मीकि र वेद्व्यासका अन्तर्वार्ता लिन
उनीहरु पो अहिले फुर्सदमा छन
अँ,
मैले पनि उनीहरुको यौटै अन्तर्वार्ता पढ़ेको छुइनँ।

पारखी
पुर्णेको रातलाई उज्यालो भन्नेहरू छँदैछन
पुर्णेकै रातलाई अँध्यारो मान्नेहरू पनि यहाँ छन
औंसीको रातलाई अँध्यारो गन्नेहरु त छँदैछन
औसीकै रातलाई उज्यालो ठान्नेहरू पनि यहीँ छन
यस्ता मान्छेहरु पनि देखेँ मैले यो संसारमा
आफ्नो फोस्रो फललाई सुन भन्दै बेच्छन बजारमा
अरुको झरिलो फूललाई पनि बासी ठान्दै फ्याँक्छन कुनामा।
लौ, तिमी नै भन
पुर्णेको रात उज्यालो कि
औंसीको रात अँध्यारो?
फोस्रो फल सुन कि झरिलो फूल हीरा?

No comments:

Post a Comment