Monday, August 16, 2010

मायाजालमा बन्दी शब्दहरु-५
इतर भावना
दुइ आँखा त,
वल्लो घरको झिरीझिम्टी
पल्लो घरको चोक्टा-लाम्टा
चिहाउँदा नै ठिक्क भो!
तेस्रो आँखा शिवले खुस्काइहाल्यो
ईश्वर! संसार चिहाउन मलाई
चौथो आँखा पो चाहिने भो!

आफन्त
गाली गर्नुहुन्छ त्यसरी?
आफ्नो मान्छेलाई?
थाहा छैन, बिर्स्यौ?
कत्रो गुण लाएको छ
गाउँभरि तिम्रो बदनाम फैलाउनलाई!

खाड़ल
ज़रा काट्दैछौ तिमी,
अर्काको?
ओखती पो मास्दैछौ
जीवन-दानको!

लालसा
गुरु चाहियो' रे उनलाई
निर्दयताको पाठ पढ़्नलाई
भनिदेऊ न है लाजै पचाएर
घरिघरि प्रेममा डुब्नलाई!

आश्वासन
किन छक्कै परेर हेरेको
सपेराको बीनमा
फना उठाएको साँपलाई?
साँपले तालीम लिएकै छैन
भरतनाट्यमको ताल

कथक नृत्यको चाल!

अनुमति
साटो फेर्छौ तिमी
जीवन-दानको?
लौ छाती उघारिदिएको छु
मुटु नै ताकेर प्रहार गरिदेऊ
ताकि,
बिझाइरहेको घाऊ
एकै चोटमा निको हुनसकोस!

No comments:

Post a Comment