Monday, August 16, 2010

मायाजालमा बन्दी शब्दहरु-४
विज्ञापन
साइनोको सारङ्गीमा
आफ्नो गीत पो सुनाएको उनलाई
बेच्दै पो रहेछन मेरो घाउ
अचार साँधेर
हाट-बजारमा जो कोहीलाई।

गुनासो
कृष्ण,
किन सिकायौ नि बाँसुरी बजाउन
सकेनन धरतीमा कसैले
प्रियतमलाई हँसाउन।

निम्तो
सुपारी पायौ तिमीले
सरकोजी र ब्रुनीको
बासी बिहेको?

भूल निर्णय
शिविर खोल्ने ठाउँ पाएनन ईश्वरले?
खचाखच छ पृथ्वी
कहिल्यै निको नहुने
बिरामीहरुको भीड़ले।

उपहार
भुसुक्कै निदायौ तिमी?
हेर, म अनिँदो छु
शब्द थुपार्दै तिम्रो पोल्टोमा हाल्दैछु।
भोली बिहान ब्यूँझँदा
तिमी आफूलाई
शब्दको हारमा सजिएकी राजकुमारी पाउनेछ्यौ
अनि
मस्त निदाइरहेको मलाई
दरिद्र कवि!

कुँजे पुरुषत्व
चुल्ठोमा पुल्ठो बाल्छन
धनका भोकाहरू,
दुलहीको केशले
दाह्री सजाउँछन बोकाहरू।
झरिझुट्ट परेर
बाटोमा निस्केका छौ
नर्क जान तम्सेका हौ?

बैगुणीको चर्तिकला
देख्यौ पहाड़,
नतीजा?
सापट दियौ नि छाती उघारो पारेर।
हेर,
अहिले फर्काइल्याउन
कति गाह्रो परिरहेछ!

पृथ्वी
वल्लोछेउदेखि पल्लोछेउसम्म
बिरामी नै बिरामी
एकैजना पनि डाक्टर नभएको
हन यो कस्तो अस्पताल?

वैभिन्न्य
अड़ेको जस्तो लाग्यो
बढ़ेको जस्तो लाग्यो
भन्छन- अल्छेहरू!
हिँड़ेको जस्तो लाग्यो
घटेको जस्तो लाग्यो
भन्छन- उद्यमीहरू!

सुझाव
हिड़्नदेऊ न मलाई
आफ्नो बाटो
बाटोभरि ओछ्याउँछौ काँड़ाहरू
गलैँचाको साटो।
कुदाउँछु नि बुलडोज़र
वरपर केही नहेरी
फराकिलो पार्छु सड़क
अवरोध सबै निमिट्यान्न पारी!

1 comment:

  1. किरणज्यूका कविताहरू सरल, सहज भएर पनि चसक्क छुने किसिमले लेखिएका छन्। उनको व्यक्तित्व जस्तै सौम्य छन् उनका कविताहरू पनि।

    ReplyDelete