Friday, August 6, 2010

मायाजालमा बन्दी शब्दहरु-६
उन्मुक्तिको चाह

कृष्ण!
आफ्नो नाति अनिरुद्ध र उसकी प्रियतमा
उषालाई उकास्न त
द्वापर युगमा आएर
रगतको नदी नै बगायौ।
तिम्रो पवित्र चरणस्पर्शित तेजपुरमा
म पनि छु प्रेमी नै- कविताको,
मलाई उकास्न
कलियुगमा दर्शन दिएर
एकथोपा आँसु पनि खसाल्न सक्दैनौ?

भोक
साह्रै बुद्धू भएँ म,
सबैले हियाउनथाले।
ज्ञानको भण्डार-
रावणको त्यो यौटाचाहिँ टाउको
कसैले ल्याइदिनु नि हौ,
टाँस्ने थिएँ आजै मेरो शरीरमा!

थाँती सजाय
शिष्यले भूल गरयो
गुरुले पाँसुलामा एक स्वाँट लायो
भोलिपल्टै उसले भूल सुधारयो।
ईश्वरले भूल गरयो
गुरु बन्ने लालसा लिएर
मान्छेले हातमा चाबुक लिई
चारैदिशा खोजिहिँड्यो
चनाखो ईश्वर कहाँ भाग्यो भाग्यो!

दृश्यावलोकन
तिर्खाएको छ
भोकाएको छ
खोक्रो ढुङ्ग्रो
अटाउँला-

ब्रह्मपुत्रको सबै पानी त्यसमा?

शङ्का
परस्परको अनुहारमा हेरेर
अर्काकै मुटु उधिनिरहेको देखेँ

उनीहरुलाई!
मैले त पत्याइनँ

उनीहरुको प्रेम अमर हुनेछ
जुनीभरिलाई!

व्यङ्ग्य-खेल
घुरेनमै फूल त फुल्यो नि
धोक्रेको
मनै लोभ्याउने।
माला गाँस्नु भएन
मूलढोकामा तुर्लुङ्गै झुण्ड्याउने।

No comments:

Post a Comment