Monday, August 16, 2010

मायाजालमा बन्दी शब्दहरु-१
समयको नृत्य
चिप्लेर खसेको छ
तारेभीरबाट
समय
डङ्गै उत्तानो पछारिएको छ
चप्लेटी ढुङ्गामा
रगतपच्छे अक्षरहरू जन्माएर।

कटुसत्य
जुनी राम्रो होइन
प्रेमको
फुर्सद पायो कि
घाउहरू चाटिबस्छ यसले।

निवेदन
बाझूँ म जीवनसँग?
क्षितिजको इन्द्रेणी पक्रन।
हारूँ म क्षितिजसँग?
बादलको रुञ्चे मुहार निहार्न।
ठुस्कूँ म बादलसँग?
बाँझो खेतमा शब्दको झरी बर्साउन।

स्पष्टीकरण
के हेरेकी तिमीले मेरा आँखामा?
आँसुको खोला?
सुकिसकेका छन
मौनताको बगरमा।

व्यङ्ग्य-राग
मौनताको जुलुस रोक्न
हल्लाहरुको सङ्गीत बजिरहेछ
कानै फुटाउनेगरी।

पार्थक्य
शाहजहाँको ताजमहलमा
मुमताजको आँसु खस्छ पलपल
सुरिलो धुन बज्दैन।
मेरो एफएम् रेडियोभित्र बजिरहन्छ गीत
तिम्रो सुरिलो कण्ठमा
निद्राको प्रदेशमा मलाई धकेल्दै
शोकधुन त्यहाँ पटक्कै बज्दैन।

No comments:

Post a Comment