Tuesday, August 17, 2010

अपितु
कवितासित त कसैगरी पनि म मन दुःखाउन सक्दिन। तर लामो समयसम्म कुन्नि किन कविताले मसित मन दुःखाइरही। मैले उसलाई नबोलाएको पनि होइन। बिहान, दिउँसो, राती कुनै समय बाँकी छैन, फुर्सद पाउनसाथ उसलाई बोलाएर वार्तालाप गर्ने मनसाय बनाएकै हुँ। फुस्लाउने चेष्टा गरेको हुँ, फकाउने प्रयत्न पनि गरेकै हुँ। फकाएर, फुस्लाएर आफ्नो कोठामा ल्याउने, बसाउने प्रयास गरेकै हुँ। एककुनामा केहीबेर चुपचाप बसेपछि कुन्नि के हुन्थ्यो उसलाई, ठुस्केर मैले चालै नपाई कहाँ जान्थी-जान्थी। यसचोटि भने उसले मेरो दयनीय अवस्था देखेर होला, साथ छोड़ेकी छैन। मलाई अँगालो हालेर बसिरहेकै छे। मैले पनि उसलाई अँगालोदेखि मुक्त हुने अवसर प्रदान गरेको छुइनँ। मलाई ऊ सधैं यसरी मेरो समीपमा बसिरहेकी नै मनपर्छ, मेरो उदास अनुहारमा उसले मुस्कान पोतेकी नै मनपर्छ।
मेरो अघिल्लो सन्तान 'आत्मसम्मोहन र घाइते शब्दहरू'-लाई खेल्ने साथी चाहिएको थियो। घरिघरि मेरो कानमा भनिबस्थ्यो उसले- "भुक्लुक्क परेको भाइ ल्याउनुहोस न एउटा!" यसपाली ल्याइदिएको छु उसलाई उसको जन्म भएको चौध वर्षको लामो अन्ततरालपछि। नाम पनि उसको नामसित मेल खाने राखिदिएको छु- `मायाजालमा बन्दी शब्दहरू' भनेर। यातिका दिनसम्म उसले नियास्रो समय बितायो, खेलुन अब भाइसित मनग्गे। "भाइलाई माया गर्नु, अरूले भाइलाई सर्काइदेलान, फुर्काइदेलान, माया गरिदेलान, तिमीले चित्त नदुःखाउनु। मलाई त तिमीहरु दुवैको उत्तिकै माया लाग्छा। तिमी त ठूलो भयौ अब, संसार बुझ्ने भइसकेको छौ, परिपक्व भइसकेको छौ।" भनेर उसलाई टाउको मुसार्दै सम्झाएको छु। मलाई थाहा छ उसले मेरो कुरालाई मान्नेछ र भाइलाई सँगसँगै डोहोरयाएर हिँड़ाउनेछ। उसको भाइ टुकुटुकुल हिँड़्ने भएपछि उसले "आफै हिँड़ अब।" भन्नेछ। खुट्टा लागेपछि त आफ्नै खुट्टामा हिँड़्न दिनुपरयो नि!
शब्दको मायाजालमा म परें कि मेरो मायाजालमा शब्द परयो खुट्याउन गाह्रो भइरहेको छ। भावनाको मायाजालमा भने शब्द र म दुवै परेका हौं, पौंठेजोरी पनि खेलेका हौं हामी दुवैले। कहिले उसले मलाई भुइँमा पछारेको हो अनि कहिले मैले उसलाई पछारेको पनि सत्य नै हो। फेरि सम्झौताको यौटै सिह्रानीमा हामीले आँसु पनि झारेका हौं। भावनाको मायाजालबाट म त सुटुक्कै फुत्किएर बाहिर निस्किएँ, शब्द भने भावनाको मायाजालबाट फुत्कन सकेन, बल्छीमा परेको माछाजस्तो अल्झिरह्यो। त्यसैले अहिले ऊ बन्दी छ, फुत्कन सक्दैन पनि कहिल्यै। म भने अब कुन शब्दलाई बन्दी बनाऊँ भन्ने ताकमा छु। कस्तो निर्दयी नि म!
शास्त्रसम्मत कविता सिर्जना हुँदैन, यतिचाहिँ थाहा छ मलाई। शास्त्रेतर कविता रचना गरेर मैले अपराध पक्कै गरिनँ, त्यो पनि थाहा छ। पाठक, समालोचकको धारिलो हातको सिर्कना बेहोर्न मेरो नाङ्गो पिठ्यूँ सधैं तैयार छ। पाठ सुधार्नलाई सधैं सिर्कना बेहोर्न तैयार रहनुपरयो नि! यसमा मेरो खति छैन, फायदा नै फायदा छ।
यसपाली चाहिँ मलाई पक्कै विश्वास भयो- लेखनको निम्ति नैतिक प्रोत्साहनले ठूलो बल प्राप्त गर्दोरहेछ। "राईदा, आपूनि भाल कविता लिखिब जाने, सङ्कलन उलियाउक।" (राईदा, तपाईंले राम्रो कविता लेख्नुहुन्छ, कविता-सङ्कलन निकाल्नुहोस।) भनेर भनिरही यसचोटि। कत्रो ठूलो प्रेरणा, शक्ति लुकेर बसेको हुँदोरहेछ यस भनाइमा। सबैले कहाँ भन्दा रहेछन र यसरी! धन्यबाद दिएर मात्र म पार पाउन सक्छु? वर्णाली-सित वाचा गर्छु जीवनभरि सम्झनादेखि तिमी टाड़ो हुँदिनौ भनेर!

प्रकाशनको क्षेत्रमा बामे सरिरहेको मिरभ प्रकाशन, दार्जीलिङ-लाई फलोस, फुलोस भन्ने शुभकामनासहित मेरो दोस्रो कविता-सङ्कलनलाई छापिदिने ठूलो जिम्मेवारी लिएर मेरो छाती नाङ्लोजत्रो बनाइदिएकोमा फूलले नाङ्लो सजिएसरह अजस्र धन्यबाद्हरू!
अन्तमा, मलाई अनि मेरा कवितालाई मनपराइदिने सप्पैलाई मेरो तर्फबाट मुटुभरिको सलाम!
किरणकुमार राई
तेजपुर, असम
१९.०२.२००९

No comments:

Post a Comment