चर्दैछन्
अम्मली भेँड़ाहरू
र
भीरको टुप्पोबाट झरेर मर्दैछन्
भविष्यको चट्टानमा।
कति मरिसके भेँड़ाहरू?
औला भाँचेर गन्ती गर्दैछन्
बैदार समय।
गहिरा तिम्रा ती दुइ आँखाभित्र
झ्वाम्म हाम फाल्न सक्दिनँ नि म।
डुबुल्की मारी सिपी खोज्नु त कहाँ हो कहाँ
आफ्नै मुटुभित्र बिझेको
मइनकाँड़ा झिक्न पनि सक्दिनँ नि म।
सन्त
यो भित्ते घड़ी अझै चेतेको छैन
टिक टिक गर्दै कतिको ज्यान खाइसक्यो
त्यसको हिसाप योसित छैन।
सिँहासनमा गजधम्म अड़ेस लागेर विराजमान
न आँसु झार्नु छ आँखाबाट
न मुस्कान छोड़्नु छ ओठबाट।
डर पो लाग्दैछ मलाई त
अकालमा खिएको जाबो यो शरीर
लमतन्न परेको हेर्नलाई
मूक दर्शक बन्न पनि बेर छैन!
मायाजालमा बन्दी शब्दहरु-१
समयको नृत्य
चिप्लेर खसेको छ
तारेभीरबाट
समय
डङ्गै उत्तानो पछारिएको छ
चप्लेटी ढुङ्गामा
रगतपच्छे अक्षरहरू जन्माएर।
कटुसत्य
जुनी राम्रो होइन
प्रेमको
फुर्सद पायो कि
घाउहरू चाटिबस्छ यसले।
निवेदन
बाझूँ म जीवनसँग?
क्षितिजको इन्द्रेणी पक्रन।
हारूँ म क्षितिजसँग?
बादलको रुञ्चे मुहार निहार्न।
ठुस्कूँ म बादलसँग?
बाँझो खेतमा शब्दको झरी बर्साउन।
स्पष्टीकरण
के हेरेकी तिमीले मेरा आँखामा?
आँसुको खोला?
सुकिसकेका छन
मौनताको बगरमा।
व्यङ्ग्य-राग
मौनताको जुलुस रोक्न
हल्लाहरुको सङ्गीत बजिरहेछ
कानै फुटाउनेगरी।
पार्थक्य
शाहजहाँको ताजमहलमा
मुमताजको आँसु खस्छ पलपल
सुरिलो धुन बज्दैन।
मेरो एफएम् रेडियोभित्र बजिरहन्छ गीत
तिम्रो सुरिलो कण्ठमा
निद्राको प्रदेशमा मलाई धकेल्दै
शोकधुन त्यहाँ पटक्कै बज्दैन।
स्वाभिमानको क्यान्भसमा किरिङमिरिङ रेखाहरूले कोरिएको एउटा अस्पष्ट अनि अमूर्त पोट्रेट। व्याखा हुनै नसक्ने अर्थहीन व्यक्तित्व। जीवनले सोहोरेर ल्याएको अनुभव र अनुभूतिलाई अभिव्यक्तिको मञ्चमा मञ्चन गराउन चाहने तृतीय श्रेणीको अभिनेता। छुल्याहा समयको मूक दर्शक। सार्दैछ पाइला, पुगेर पुग्नै नसकिने, स्पर्श गर्न खोजेर छुनै नसकिने दिगन्तमय गन्तव्यतिर। नियति स्याहार्दैछ उसले कि नियतिले स्याहार्दैछ उसलाई? समयले बल्छी हानिरहेछ उसको जीवनलाई- बस त्यति!