Monday, August 16, 2010

मायाजालमा बन्दी शब्दहरु-३
विश्लेषण
छिन्द्रिङ्ग बज्यो चुरा
पल्लो कोठामा
गर्भाधान भयो- सोचेको
कत्रो ठूलो भूल मेरो?
ह्त्या पो रहेछ!

मुक्ति-कामना
गुरुबन्धनी
धनुबन्धनी
लघुबन्धनीको जेलखानाबाट
कहिले छुटने हुन कुन्नि?
बिचरा ती निरपराधी बन्धुत्व!

तुलना
जे पायो- खान्छन
जहाँ पायो- सुत्छन
के राम्रो बाली सप्रन्छ उनीहरुको!
छानी छानी खायो
सुकिलो डसना रोज्यो
सधैं बाली कचल्टिन्छ
के भा'को मेरो चाहिँ यस्तो?

शब्दको मैदान
निथ्रुक्क भिज्छन निर्वाङ्ग कविहरू
मुसलधारे पानीमा
छाता ओड़ेरै सर्वाङ्ग ढाकी
अकवि पनि निस्कन्छन सिकोमा।
खल्तीभरि शरमहरू घुसारेर
चिहाउँछन पाठकहरु चेपबाट पर्दाको।
कुट्छन समीक्षकहरू ओखती
ठिङ्ग उभेको ओखलीमा आँगनको
निर्वाङ्ग निथ्रुक्क भिज्ने सर्दी भगाउन कविको।

सम्भावित सजाय
बलवानहरूको हातैभरि,
मुखैभरि घीऊ नै घीऊ
निर्धाहरुको शिरैभरि पैतालाभरि
घाऊ नै घाऊ
लाखेस ईश्वर!
मेरो पालो आवोस न
सिर्कना लाउँदै संसार डुलाउँछु तिमीलाई!

हाँक
के फुटानी गर्छौ
शब्द तिमी?
अर्काकै हात पक्रेर
कागजको शिखर उक्लिरहेछौ।

भ्रमर
के साह्रो डुलन्ते भएको
शब्द तिमी?
कुनै ठाउँ बाँकी छैन
तिमीले नचहारेको।

No comments:

Post a Comment