Tuesday, August 17, 2010

विज्ञापन अनि हाम्रा कविता
नेपाली साहित्यमा अब राम्रा कविहरुको अभाव छैन। छँदैछैन, पटक्कै छैन।
हामीसित छन धेरै कविहरू जसले कोरा भावुकतालाई मात्र आफ्ना कविताहरुमा स्थान नदिएर कवितालाई सही ढाँचामा ढाल्नको निम्ति कठोर परिश्रम गरेका छन। अनि साँच्चै नै उनीहरुका कविताहरू कविताकै ढाँचामा रूपायित छन जसले विश्वस्तरमै पनि प्रतिस्पर्द्धा गर्न सक्षम छन भनेर हामी भन्न सक्छौं। किनभने हामीले पनि विश्वका चर्चित कविहरुका थोरे भए पनि कविताहरू अध्ययन गरिसकेका छौं। उनीहरुका कविताहरुभन्दा हाम्रा सर्जकहरूका कविता अलिकति पनि कमसल हामीलाई लाग्दैन।
बरू लाग्छ, अझ प्रखर! अझ तेज!!
तर, संसार अहिले विज्ञापनको भरमा बाँचेको छ। विज्ञापनकै कारणले गर्दा अरूहरूका साहित्य उपल्लो दह्रिएका छन। यसको प्रत्यक्ष दृष्टान्त भर्खरै अस्कर पुरस्कारप्राप्त स्लमडग मिलिअनेअर चलचित्रलाई लिन सकिन्छ। स्लमडग मिलिअनेअर एउटा उत्कृष्ट चलचित्र हो भन्नमा कुनै दुईमत छैन तर यतिकै राम्रा अनि बरू यसभन्दा पनि उत्कृष्ट भारतीय चलचित्रहरु नबनेका होइनन जसले अस्कर पुरस्कार प्राप्त गर्न सकेनन। किनभने ती निर्माता अनि कलाकारहरूमा केवल चलचित्र निर्माण गर्ने अनि कला प्रदर्शन गर्ने मात्र दक्षता थियो तर विज्ञापन गर्ने, लबी गर्ने कला र स्रोत-साधन उनीहरूसित चाहिएजति थिएन। अर्कोतर्फ स्लमडग मिलिअनेअर चलचित्रसित विदेशीहरुको विशेष संलग्नता थियो अनि विज्ञापन गरिनुपर्ने सही ठाउँमा उनीहरुकै दबदबा थियो।
हाम्रा कला, साहित्य प्रतिभाहरुको मूल्याङ्कन विश्वमा यसरी हुँदोरहेछ भन्ने कुरा स्लमडग मिलिअनेअर-ले उदाङ्गो पारेको छ। तर खेद्को कुरो जतिबेला हामी दुःखी हुनुपर्ने, ठीक त्यतिबेला हामीले उत्सव मनाइरहेका छौं। यो हाम्रो कस्तो विडम्बना?
विज्ञापनले मात्र तर कुनै कृति उत्कृष्ट बन्दैन, यो सोह्रै आना सही हो। विज्ञापन गरिनुपर्ने कृतिमा गुणात्मक पक्ष प्रबल हुनैपर्छ। तर हाम्रा सर्जकहरूका कृतिहरूमा गुणात्मक पक्ष यति दह्रिलो भएर पनि किन नगण्य छ भन्ने प्रश्न उठेमा विज्ञापनको न्यूनतालाई हामी अघि राख्न सक्छौं। विज्ञापनमा विश्वास गर्ने हाम्रा सोझा पाठकहरूलाई अब हाम्रा कविताहरूतर्फ पनि त्यतिकै चासो राख्ने बनाउन सकिन्छ भन्ने हामीमाझ ठूलो चुनौती खड़ा छ। हाम्रा कृतिहरू कसैले स्वेच्छाले किन्दैनन। हाम्रा कृतिहरू पढ़िदिने सहृदयी पाठकहरु छैनन। कतिपय लेखकहरूले ठूला-ठूला हाँक पिटे पनि तीतो यथार्थलाई उनीहरूले आफ्ना हृदयभित्र लुकाएर राखेका छन। हाम्रै समाजभित्र हाम्रा कृतिहरुको यस्तो दुर्दशा छ।
यस्तै प्रतिकूल परिस्थिति र परिवेशबाट हामीले प्रकाशनयात्राको शुरुआत गरयौं। जान्दाजान्दै कि यो यात्रा अति विकटिलो छ। नेपाली साहित्य विश्वमा कुन स्थानमा छ त्यसको निर्धारण हुन बाँकी नै छ। थाहा छ तर यतिचाहिँ नेपाली साहित्यको स्थान नगण्य छ, भारतीय साहित्यको परिप्रेक्ष्यमा पनि। यस्तो हुनको कारण पत्तो लाउन सर्वेक्षण हुनुपर्ने ठुलो आवश्यकता छ। हामीमा आत्मालोचानाको कमी छ। यसैले यो रहस्यको गाँठो फुस्कन सकेको छैन अद्यापि।
भारतीय नेपाली साहित्यका एकाध मानिएका लेखकहरूका कृतिहरूले कतिसम्म पाठकहरु पाएका छन? यो पनि एउटा गतिलो प्रश्न छ हामीसित। कविताका पुस्तकहरू पाँच सय प्रतिभन्दा बेसी कहिले छाप्नु हामीले? कहिले हाम्रा पुस्तकहरू हारालुछ हुनु पाठकहरूमाझ? यस्ता कैयौं समाधानहीन समस्याहरु छन हामीसित।
के हाम्रा कविताहरुमा निहित घनत्वले विश्वलाई बोक्न सक्दैना? के हाम्रा कविताहरुमा विश्वस्तरका कविताहरुमा पाइने बास्ना छैन? छ, अवश्य छ। तर ती मोहक बास्नालाई हाम्रै बुद्धिजीवीहरूले कहिले अनुभूत गर्ने अनि कहिले यसको महक विश्वभरि फिँजाउने? तर, यी समस्याहरुका समाधान अवश्य हुनेछन एकदिन। त्यसैले लागिपरेका छन हाम्रा सर्जकहरू सिर्जनामा अनि अझ अब्बल सिर्जनामा। एकदिन अवश्य यस्तो आउनेछ। जब हाम्रा कृतिहरू अन्तर्राष्ट्रिय भाषाहरूमा लाखौंको संख्यामा छापिनेछन, हाम्रा पुस्तकहरूले पनि विश्व साहित्यमा प्रचार-प्रसार पाउनेछ। बस! त्यही दिनको प्रतीक्षा छ!
शुभस्य शीघ्रम!
मिरभ कम्प्युटेक प्रिन्टर्स
बतासे कोइरी, घूम, दार्जीलिङ
३.३.०९

No comments:

Post a Comment