Thursday, August 5, 2010

मायाजालमा बन्दी शब्दहरु-१९
अशिष्टता
सोफोक्लज,
तिम्रो कलामको नीब
किन भाँचिएन
इडिपसलाई जन्म दिँदा?

पक्षपाती समय
देखेनन बाजेले
मोबाइलको बटन
सेकेण्डमै यात्रा सिध्याउँदैछौं विश्वको।
डुल्दैछन तरुणी ठिटीहरू
क्षणभरमै ग्लोबल भिलेज
ल्यापटपलाई काखमा दूध चुसाउँदै।

अपरिपक्वता
डुब्न नजान्ने
मान्छे म
असीम गहिराइभित्र
प्रेमको।

ईश्वरको रूप
अँध्यारोमा छामें
ईश्वरको तस्वीर
मुसुक्क हाँसिरहेका रहेछन
उज्यालोमाभन्दा धेर।

युगको कोसेली
के राम्रो फुलेछ
गुराँस र चाँप- त्यो पाखामा!
स्न्याप ग़री
अहिले नै मेल गरिदिनुपरयो
स्टेटकी भाञ्जीलाई।

नियति-३
लासले पनि अभिनय गर्छ
क्रेताको लाममा बसेर
पसलकी छिल्लिने सेल्स-गर्ल्ससित।

स्वाभिमान- बिच्चाको
आत्म-मर्यादाको बाक्लो हुस्सेभित्र
रुमलिरहेको छ उसको रेलगाड़ी
मायाको घुमाउरो लिकमाथि।

बिडम्बना
हेरेकै थिए बाजेले पहाड़-
हरियै
हेरेका छौं हामीले पनि पहाड़लाई-
तर नाङ्गै।

स्वाँगे सम्राट
राग अलाप्नै नजान्ने कौड़े भाले
कलाकारको मुकुट ओड़ेर
चौकीमा गजधम्म बसेको छ
कृत्रिम ठाँटको पगरीसितै।

No comments:

Post a Comment